हेटौंडामा होटलको रेलिङबाट लडेर एकको मृत्यु
हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्क स्थित एक होटलको तेस्रो तल्ताको रेलिङबाट लडेर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार राति हेटौंडा बसपार्कमा अवस्थित रोशन होटल एण्ड लजको तेस्रो तल्लाको रेलिङबाट लडेर घाइते भएका हेटौंडा १२ पदमपोखरीका ३० बर्षिय अमित मोक्तानको चितवन स्थित सरकारी अस्पतालमा उपचारको क्रममा आज बिहान करिब १२ २० बजे मृत्यु भएको हो ।
सोही होटलमा बसेका श्रीमती अन्दाजी २६ वर्षकी ममता प्रजालाई भेट्न मोक्तान आएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताए ।
घटनाको बेलामा उनी होटलको तेस्रो तलामा गएका र बाहिरी रेलिङबाट अचानक खसेको र उपचारका क्रममा मृत्यु भएको प्रवक्ता अर्यालले बताए ।
घटनाबारे जानकारी पाएपछि घाइते मोक्तानलाई उनकी श्रीमती ममता प्रजा र होटल सञ्चालक अरुण पन्तले तत्कालै हेटौंडा अस्पताल पुर्याएका थिए। प्रारम्भिक जाँचमा दुवै हातमा सामान्य चोट देखिए पनि भित्री चोट गम्भीर रहेको चिकित्सकले बताएका थिए।
घाइतेको अवस्था जटिल देखिएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा रिफर गरिएको थियो। तर, अस्पताल पुगी उपचार भइरहेको अवस्थामा गएराती चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







