सहकारीमा लगानीप्रतिको विश्वास

अनु आचार्य
२०८१ चैत्र ६, बिहीबार १६:०८

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको एउटा सानो किराना पसल। झट्ट हेर्दा सामान्य लाग्ने यो पसल डेढ दशकदेखिको मेहनत, इमान्दारी र दूरदृष्टिको कथाको साक्षी हो। रसुवाको कालिका गाउँपालिका–४, धुसेनीका केशब देवकोटाले यही पसलबाट आफ्नो जीवनको नयाँ यात्रा सुरु गरे ।

१५ वर्षअघि, काठमाडौं आएका केशब देवकोटासँग ठूलो पूँजी थिएन। उनले जम्मा हजार रुपैयाँ लगानी गरेर बालाजुमा किराना पसल सुरु गरे। सुरुवाती दिनहरू सजिला थिएनन्। बिहान सबेरै पसल खोल्ने, ग्राहकलाई सेवा दिने, सामान खरिद गर्ने, हिसाब किताब मिलाउने—यही दिनचर्या थियो।

तर, परिश्रमको फल उनले राम्रै पाए। स्थानीय ग्राहकको भरोसा जित्दै उनले आफ्नो पसललाई विस्तार गरे। दैनिक उपभोग्य सामानहरूसँगै ग्राहकको मागअनुसार नयाँ सामान थप्दै गए। आज, उनको पसलबाट दैनिक ५० हजार रुपैयाँभन्दा माथिको व्यापार हुन्छ।

व्यापारबाट आएको आम्दानीबाट उनले आफ्नो परिवारको जिम्मेवारी कुशलतापूर्वक निभाइरहेका छन्। दुई सन्तानको पढाइदेखि घरखर्च चलाउनसम्म यो पसलले नै साथ दिएको छ। तर, उनले व्यापार मात्र होइन, भविष्यका लागि बचतलाई पनि उत्तिकै महत्त्व दिएका छन्।

केशब देवकोटा विभिन्न पाँच वटा सहकारी संस्थामा नियमित बचत गर्छन्। बचत रकम सयदेखि पाँच सय रुपैयाँसम्म फरक–फरक खातामा जम्मा गर्छन्। उनी भन्छन्, “व्यवसायबाट आएको रकम खर्च मात्रै गर्ने होइन, जोगाउन पनि सिक्नुपर्छ। भविष्य सुरक्षित राख्न बचत अनिवार्य छ।“

नेपालमा पछिल्लो समय केही सहकारी संस्थामा समस्या देखिए पनि केशब देवकोटा सहकारी प्रणालीप्रति सकारात्मक छन्। “कतिपयले सहकारी डुबायो भन्छन्, तर मैले कारोबार गर्ने सहकारीमा त्यस्तो समस्या देखिएको छैन,” उनी भन्छन्।

उनका अनुसार, सहकारीमा नियमित बचत गर्नुका फाइदा धेरै छन्। आवश्यक पर्दा सजिलै ऋण पाइन्छ, साथै बचत गरेको रकम अप्ठ्यारो समयमा सहयोगी बन्छ। “सहकारी गाह्रोसाह्रोमा दुखको साथी बनेको छ,” उनी थप्छन्।

केशब देवकोटाको सफलताको रहस्य भनेकै इमान्दारी, निरन्तर मिहिनेत, ग्राहकप्रतिको आदर र सही वित्तीय व्यवस्थापन हो। उनले सानो लगानीबाट सुरु गरेको व्यवसाय आज परिवारको मुख्य आधार बनेको छ।

उनले जस्तै यदि साना व्यवसायीले बचत, सहकारीमा लगानी, र ग्राहकसँग विश्वासको सम्बन्ध बनाउन सके, आर्थिक स्थिरता हासिल गर्न सकिन्छ। उनी भन्छन्, “सही मेहनत, सही सोच र बचत गर्ने बानीले कहिल्यै धोका दिँदैन।”

यसमा तपाइको मत

Your email address will not be published.


*