कैलाशका ९९ घरलाई सुधारिएको चुल्हो विवतरण

अखबार हब
२०८२ जेष्ठ १३, सोमबार १८:५५

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका वडा नम्बर ३, ४ र ७ नम्बरमा बसोबास गर्ने ९९ घरधुरीलाई सुधारिएको धुँवा रहित चुल्हो वितरण गरिएको छ ।

सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले चुल्हो हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट एशोसिएसनले तीन वटा वडामा घरधुरी सर्वेक्षण गरेर छनौटमा परेका ९९ घरलाई चुल्हो प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सुधारिएको चुल्हो वातावरण र स्वास्थ्यमैत्री रहने बताउनुभयो । घरमा भएका साना बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्यलाई धुँवाले प्रतिकुल असर पारिरहेको अवस्थामा यसखालको चुल्होको प्रयोगले स्वास्थ्यमा सहयोग पुग्ने उहाँले बताउनुभयो । आधुनिक प्रविधिको चुल्होको प्रयोग बढ्दै गएपनि कैलाशमा अधिकांश भान्सामा दाउरा प्रयोग भइरहेको अवस्थामा सुधारिएको चुल्होको प्रयोगले धेरै राहत पुग्ने उहाँले बताउनुभयो ।

सांग्रिला डेभलपमेन्ट एशोसिएसनका कार्यक्रम संयोजक मधुसदन राउतको अध्यक्षतामा भएको कार्यक्रममा कैलाश वडा नम्बर( ३ का वडाध्यक्ष देवलाल बल, वडा नम्बर( ४ का वडा सदस्य नमराज चेपाङ, कटुञ्जे स्वास्थ्य चौकीका प्रमुख आशाकुमारी गुरुङलगायतको आतिथ्यता रहेको थियो ।

स्वास्थ्य परियोजना अन्तरगत सुधारिएको धुँवा रहित चुल्हो वितरण गरिएको कार्यक्रम संयोजक राउतले बताउनुभयो। ‘ हामीले घरधुरी सर्वे गर्यौ । प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाएपछि प्राथमिकतामा परेर छनौट भएका ९९ घरधुरीलाई चुलो वितरण गरेका हौं’ राउतले भन्नुभयो ।

उहाँले लाभग्राहीलाई चुल्होको महत्व बुझी नियमित उपयोगका निम्ति आग्रह गर्नुभयो । तालिम लिएका पाँच प्राविधिकले घरमै गएर चुल्हो जडान गर्न सहज गरिदिने उहाँले बताउनुभएको छ । चुल्होको उपयोगले दाउराको कम प्रयोग हुनुका साथै विभिन्न रोगबाट बच्न मदत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*