विद्यालयबाटै व्यवसायिक शिक्षा सुरु गर्नु पर्छः वडा अध्यक्ष सिग्देल
हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा व्यवसायिक सीप विकासका लागि तालिम सुरु गरिएको छ। सैद्धान्तिक शिक्षासँगै विद्यार्थीहरूलाई व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले विद्यालयको आन्तरिक स्रोतबाट उक्त तालिम सञ्चालन गरिएको हो।
तालिमको उद्घाटन गर्दै वडा नं. ४ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देलले विद्यालयबाटै व्यवसायिक शिक्षा सुरु हुनुपर्नेमा जोड दिएका छन् । उनले विद्यार्थीहरूको चौतर्फी विकासका लागि सीपमूलक तालिम अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधव दाहालले विद्यालयले सैद्धान्तिक शिक्षाका साथै अतिरिक्त क्रियाकलाप र सीपमूलक कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तालिम अन्तर्गत हेयर कटिङ्ग, बेसिक ब्यूटी पार्लर र बेसिक इलेक्ट्रिसियन गरी तीनवटा विषय समावेश गरिएको छ। प्रत्येक समूहमा २० जना विद्यार्थी सहभागी रहेको सह–प्रधानाध्यापक भरत पोखरेलले जानकारी दिए।
कार्यक्रममा हेयर कटिङ्ग प्रशिक्षक किरण अधिकारी र इलेक्ट्रोनिक प्रशिक्षक ज्ञानेन्द्र देवकोटाले तालिमको महत्वबारे प्रकाश पारेका थिए। त्यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकोटी, सह–प्रधानाध्यापकहरू बेदराज कोईराला, भरत पोखरेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमिरे, माध्यमिक तह संयोजक संगीता उप्रेती, आधारभूत तहका संयोजक श्याम बजगाईं, प्रारम्भिक तह संयोजक मुकुन्द न्यौपाने तथा अन्य शिक्षकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम प्रधानाध्यापक दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो।







