नवनिर्वाचित स्ववियुलाई सम्मान, लोकप्रिय र विश्वासिलो बनाउनुपर्नेमा जोड

अखबार हब
२०८१ चैत्र १०, सोमबार २२:१५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-४ नम्बर वडा कार्यालयले हेटौंडा नगरभित्रका सामुदायिक क्याम्पसहरूका नवनिर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरूलाई बधाई एवं सम्मान गरेको छ।

सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले स्ववियुले शैक्षिक गुणस्तर वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने र विद्यार्थीहरूबीच लोकप्रिय तथा विश्वासिलो संस्था बनाउनुपर्नेमा जोड दिएका छन् । मकवानपुर बहुमुखी क्याम्पसका पूर्व सभापति समेत रहेका सिग्देलले स्ववियुले रचनात्मक गतिविधिमार्फत विद्यार्थीहरूको चौतर्फी विकास र शैक्षिक स्तर उकास्न आवश्यक रहेको बताए ।

सिग्देलले स्ववियुको सुरुवात निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी संघर्षबाट भएको स्मरण गर्दै विद्यार्थीहरू सधैं लोकतन्त्र र परिवर्तनको पक्षमा रहेको उल्लेख गरे। उनले लोकतन्त्रविरुद्ध धावा बोल्ने कोही भए विद्यार्थीहरूले इतिहासको निरन्तरता दिँदै उचित प्रतिकार गर्नुपर्ने बताए ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष प्रसिद्ध रेग्मीले विद्यार्थी हितमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले गणतन्त्रको विकल्प पुनः गणतन्त्र नै भएको उल्लेख गरे ।हेटौंडा बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष अभि मैनालीले विद्यार्थीहरूको अभिमतलाई आत्मसात गर्दै स्ववियु विद्यार्थीको असल प्रतिनिधिका रूपमा रहने बताए ।

वडा सचिव पुस्पराज पौडेलका अनुसार हेटौंडा उपमहानगरपालिकाका मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, वंशलाल गोपाल बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*