मकवानपुरको ४ वटा क्याम्पसमा स्ववियु निर्वाचन जारी, पालुङमा अनिश्चित

अखबार हब
२०८१ चैत्र ४, मंगलवार १०:४४

हेटौंडा । मकवानपुरको ७ वटा क्याम्पस मध्ये ४ वटामा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।

जिल्लाका ७ क्याम्पसमध्ये मनहरी क्याम्पस र बशगोपाल बहुमुखी क्याम्पसमा निर्विरोध कार्यसमिति चयन गरेसँगै थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा विवाद देखिए पछि मतदान अनिश्चित बनेको छ भने ४ वटा क्याम्पसमा निर्वाचन जारी रहेको छ ।

बिहान ८ बजे सुरु भएको मतदान दिउँसो ४ बजे सम्म चल्ने छ ।

जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि २ जना चुनावी मैदानमा उत्रिएका छन्।

सभापतिका लागि ४ जनाले मनोनयन दर्ता गरेका भए पनि कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले अनेरास्ववियुसँग संयुक्त प्यानल बनाएर अनेरास्ववियुका उम्मेदवारलाई समर्थन गर्दै नेविसंघका सागर घिमिरे, स्वतन्त्रका पुष्कर घिमिरेले उम्मेदवारी फिर्ता लिएसँगै २ जना प्रतिस्पर्धी मैदानमा रहेका छन् ।

सभापतिका लागि अखिल क्रान्तिकारी, अनेरास्ववियू, राप्रपा विसं र विप्लव नेतृत्वको विद्यार्थी संघठनको संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका छोईसाङ लामाले उम्मेदवारी दिएका छन्। लामा मकवानपुर बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति हुन्।

अनेरास्ववियु र नेविसंघका साझा उम्मेदवार अनेरास्ववियुका प्रसिद्ध रेग्मी मैदानमा छन्।

दुबैजना उम्मेदवार यतिखेर मत माग्न व्यस्त देखिएका छन्।मकवानपुर क्याम्पसमा २ हजार ६९८ मतदाता रहेका छन्।

यसैगरी मकवानपुर जिल्लाकै हेटौँडा क्याम्पसमा स्ववियु सभापतिका लागि २ जनाबीच प्रतिस्पर्धा छ। ३ जनाको उम्मेदवारी परे पनि नेविसंघबाट उम्मेदवारी दिएका युवराज विकले अनेरास्ववियुका उम्मेदवारलाई समर्थन गर्दै फिर्ता लिएका थिए।

हेटौँडा क्याम्पसमा स्ववियु सभापतिका लागि नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट अनेरास्ववियुका अभि मैनाली उम्मेदवार बनेका छन्। उनी हेटौँडा क्याम्पसका निर्वतमान स्ववियु सभापति हुन्।

त्यसैगरी सभापतिमा राप्रपा विसं, विप्लव नेतृत्वको विद्यार्थी संगठन, अनेरास्ववियू र अखिल क्रान्तिकारीका संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका दिपक वाइबाले उम्मेदवारी दिएका छन्। हेटौँडा क्याम्पसमा ८०५ मतदाता रहेका छन्।

हेटौँडाको वन विज्ञान अध्ययन संस्थान क्याम्पसमा २ जना भिड्दै छन्। ३ जनाको उम्मेदवारी परेको उक्त क्याम्पसमा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका सुमित लामाले निर्धारित समयमा मनोनयन पत्र नबुझ्दा उनको उम्मेदवारी स्वतः खारेज भएको क्याम्पसका सहायक प्रमुख राजेश सिग्देलले जानकारी दिए।

वन विज्ञान अध्ययन संस्थान क्याम्पसमा अनेरास्ववियु र नेविसंघका साझा उम्मेदवार अनेरास्ववियुका श्यामराज भट्ट र अखिल क्रानितकारी तथा अखिल छैठौँको संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका छत्र शाही स्ववियु सभापतिका लागि भिड्दै छन्। उक्त क्याम्पसमा ४३८ मतदाता रहेका छन्।

निर्मल बहुमुखी क्याम्पसमा सभापतिका लागि २ जना भिड्दै छन्। ३ जनाले मनोनयन दर्ता गरे पनि उक्त क्याम्पसमा अन्तिम चरणमा अखिल क्रान्तिकारीका सुदिप उप्रेतीले समाजवादीनिकट विद्यार्थी संगठनका अनेरास्ववियूका नबिना घलानलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका थिए।

अन निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियूका नबिना घलान र अनेरास्ववियुका प्रशाना भण्डारी स्ववियु सभापतिका लागि भिड्दै छन्। निर्मल बहुमुखी क्याम्पसमा ८७ जना मतदाता रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*