मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेद्वारले अनेरास्ववियुलाई सघाउने
हेटौंडा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को उम्मेद्वारले अनेरास्ववियुका उम्मेद्वारलाई सघाउने भएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको लागि अखिल (क्रान्तिकारी)को तर्फबाट उम्मेदवारी दिएका दुई विद्यार्थीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको जानकारी गराए सँगै अनेरास्ववियुका उम्मेद्वारलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
क्रान्तिकारीको प्यानलबाट उम्मेदवारी निष्क्रिय पार्ने दुई विद्यार्थी नेविसंघका बुद्ध बहादुर ब्रम्हु र रामकृष्ण घोरासैनी रहेका छन् ।
निर्वाचनमा अनेरास्ववियु र नेविसंघ संयुक्त प्यानल बनाएर चुनावमा जाने निर्णय भएकोले ब्रम्हु र घोरासैनीले आईतवार एक विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारीबाट आफूहरुको उम्मेदवारी नरहने बताएका हुन् ।
उनीहरुको समर्थन नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार प्रसिद्ध रेग्मीको प्यानललाई रहेको बताएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षको लागि नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रेग्मी र अखिल(क्रान्तिकारी)का छोइसाङ लामा स्यान्ताङ उम्मेदवार छन्, भने पुष्कर घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।







