हेटौंडा औद्योगिक क्षेत्रमा पर्खाल नहुँदा सुरक्षा चुनौती

अखबार हब
२०८१ फाल्गुन ३०, शुक्रबार ०७:५४

हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा कम्पाउन्ड पर्खाल निर्माण हुन नसक्दा निजी क्षेत्रको अर्बौं रुपियाँको लगानी जोखिममा परेको छ ।

अमेरिकी सरकारको सहयोगमा स्थापना भएको देशकै ठुलो औद्योगिक क्षेत्रमा पर्खाल निर्माण नहुँदा सुरक्षामा चुनौती भएको हो ।

६१ वर्षअघि निर्माण गरिएको औद्योगिक क्षेत्रमा पर्खाल निर्माण भएको छैन । औद्योगिक क्षेत्रको बिचबाट मकवानपुरको पूर्वी क्षेत्रमा जाने सडक निर्माण गरिएको छ । बर्सौंदेखि सवारी सञ्चालन भइरहेको यस सडकको दायाँबायाँ औद्योगिक क्षेत्र रहेको छ ।

२५ मिटर सडक विस्तारमा अलमलका कारण हेटौँडामा रहेको औद्योगिक क्षेत्रमा निर्माण गरिने भनिएको वाल निर्माण अन्योलग्रस्त बनेको हो । चारैतिर खुला भएका कारण यहाँका सुरक्षाकर्मीले सुरक्षा दिन कठिन हुने स्थानीयको भनाइ छ । पर्खालकै कारण सुरक्षामा चुनौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक सगीता कुँवरले बताए ।

खुला भएका कारण सहजै आवतजावत हुने र भएकाले सुरक्षा दिन समस्या भएको उनले बताए । हेटौँडाको बाटो बिस्तार नभएसम्म पर्खाल निर्माण गर्न नसकिएको उनले जानकारी दिए । हाल हेटौँडा औद्योगिक क्षेत्रमा १४३ उद्योग रहेका छन् तर ११५ वटा सञ्चालनमा रहेका छन् । यहाँ पाँच वटा उद्योग बन्द अवस्थामा छन् । सरकारी कार्यालय, सङ्घ संस्थाका १३ वटा कार्यालय छन् । हाल १० वटा उद्योग निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा यहाँ दुई वटा नयाँ उद्योग थपिएको कार्यालय व्यवस्थापक कुँवरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*