प्रगति माविमा छात्रवृत्ति वितरण तथा ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न

अखबार हब
२०८१ फाल्गुन २८, बुधबार २१:३४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ स्थित प्रगति माविमा छात्रवृत्ति वितरण तथा ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज कोइरालाको अध्यक्षता तथा वडा नं. ९ का वडा अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा गत शैक्षिक सत्रमा प्रगति माविबाट कक्षा १० को एसईई परीक्षा दिएर यही विद्यालयमा कक्षा ११ अध्ययन गर्ने २८ जना विद्यार्थीलाई कूल १ लाख ८० हजार ७ सय ८० रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको थियो। त्यस्तै, वडा कार्यालयको तर्फबाट विद्यालयलाई २० थान सिलिङ फ्यान समेत हस्तान्तरण गरिएको छ। फ्यान हस्तान्तरण कार्यक्रम वडा अध्यक्ष सुकराम केसी, वडा सदस्य विष्णु राना मगर, कमला पौडेलले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा यस वर्षको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई प्रेरित गर्न ‘फेरि भेटौला’ कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष केसीले ९ नं. वडालाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको बताउँदै आगामी दिनमा पनि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता जनाए ।

विद्यालयका प्रधानाध्यापक किशोर पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार गौतम, वडा सदस्य कमला पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए। यस वर्ष प्रगति माविबाट ११८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्।

प्रगति मावि गत शैक्षिक सत्रको एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम हुन सफल भएको विद्यालय हो।

यसमा तपाइको मत

Your email address will not be published.


*