मकवानपुर प्रशासनद्वारा होली पर्व शान्तिपूर्ण रूपमा मनाउन आग्रह
हेटौंडा । होली पर्वलाई मर्यादित र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय, मकवानपुरले विशेष सुरक्षा व्यवस्था अपनाउने भएको छ।
मंगलबार प्रशासनले जारी गरेको सूचनामा पर्वको ऐतिहासिक महत्त्वलाई ख्याल गर्दै सामाजिक सद्भाव कायम राख्न र अभद्र गतिविधि नगर्न आग्रह गरिएको छ।
होली खेल्ने नाममा अनावश्यक तडकभडक, जबर्जस्ती रंग दलेर दुर्व्यवहार गर्ने, पानीका बेलुन हान्ने, फोहोर पानी छ्याप्ने, उच्छृंखल गतिविधि गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, जनजीवनमा असर पार्ने कार्यहरू नगर्न निर्देशन दिइएको छ। यस्ता कार्यमा संलग्न भएमा कानुनी कारबाही हुने चेतावनी समेत दिइएको छ।
प्रशासनले होलीलाई एकता, सद्भाव र संस्कृतिको पर्वका रूपमा मर्यादित रूपमा मनाउन अनुरोध गरेको छ। यदि कसैले अमर्यादित, अवाञ्छित वा गैरकानुनी गतिविधि गरेमा कानुनी कारबाही गरिने स्पष्ट गरिएको छ।
होली पर्वको अवसरमा सुरक्षा व्यवस्था कडा पारिने र शान्ति सुव्यवस्था कायम गर्न प्रशासन प्रतिबद्ध रहेको जनाइएको छ।







