नागरिकमैत्री सेवा प्रदान गर्ने प्रजिअ श्रेष्ठको प्रतिबद्धता

अखबार हब
२०८१ फाल्गुन २५, आईतवार २२:१८

हेटौंडा। मकवानपुरकी प्रमुख जिल्ला अधिकारी(प्रजिअ) स्कीम श्रेष्ठले जिल्लावासीले प्रत्यक्ष महसुस गर्ने गरी प्रशासनिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट प्रदान गरिने सेवामा नागरिकका गुनासा कम आउने गरी प्रभावकारी सेवा प्रवाह गर्ने बताइन्।

फागुन १५ गते मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रूपमा पदबहाली गरेपछि श्रेष्ठले आज सञ्चारकर्मीहरूसँग परिचयात्मक कार्यक्रम गर्दै सहि सूचना सम्प्रेषणमा सहयोग गर्न आग्रह गरिन्। उनले भनिन्, “हाम्रो ध्यान पुर्‍याउन र हामीलाई जिम्मेवार बनाउन यहाँहरूको कलम चल्नेछ भन्ने हाम्रो अपेक्षा छ। सतप्रतिशत सहि सूचना मात्र सम्प्रेषण गर्नुहोस्।”

श्रेष्ठले प्रशासनका गतिविधिलाई खबरदारी गर्न र भएका उपलब्धिलाई सही माध्यमबाट जनतासमक्ष पुर्‍याउन सञ्चारकर्मीहरूको भूमिकालाई महत्वपूर्ण बताइन्।

कार्यक्रममा उनले एनजीओहरूद्वारा सञ्चालित कतिपय गतिविधिले जनताको सेवा प्रवाहमा अवरोध पुर्‍याएको गुनासो आएको बताउँदै प्रशासन त्यसमा सहभागी नहुने बताइन्। तथापि, जनताको सेवासँग प्रत्यक्ष रूपमा सम्बन्धित कार्यक्रम भए मात्र सहभागी हुने स्पष्ट पारिन्।

परिचयात्मक कार्यक्रममा सञ्चारकर्मीहरूले मकवानपुरमा लागुऔषध दुरुपयोग न्यूनीकरण, अवैध क्रसर उद्योग सञ्चालन, ट्राफिक नियम उल्लङ्घन, खानी दोहन, यौनजन्य गतिविधिको विकृति जस्ता विषयहरूमा प्रजिअ श्रेष्ठको ध्यानाकर्षण गराएका थिए।

यसैबीच, यसअघि सहायक प्रमुख जिल्ला अधिकारी रहेका धोलकराज ढकाल सहसचिवमा बढुवा भई मन्त्रालय पदस्थापित भएपछि राजेन्द्र प्रसाद कँडेलले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*