मकवानपुरको कैलाशमा ‘जिपलाइन’ को परीक्षण
हेटौंडा । मकवानपुरको पर्यटकीय क्षेत्र कैलाश गाउँपालिकामा साहसिक खेल ‘जिपलाइन’ निर्माण परीक्षण गरिएको छ। पर्यटकीय स्थलको प्रवर्धन र पर्यटक आकर्षित गर्न ‘जिपलाइन’ निर्माण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।
पालिकाको २ नं. वडा बैकुण्ठमा निर्मित कैलाश- बैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षण गरिएको छ । जिपलाइनको प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष मुक्तान, २ नं. वडाध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, इन्जिनियर अनिल जोशी लगायतको टोलीले पहिलो चरणको परीक्षण गरेका हुन् ।
सञ्चालनको अन्तिम तयारीमा रहेको जिपलाइन कैलाश गाउँपालिकाको आफ्नो बजेटबाट निर्माण गरिएको हो। मूलतः यो स्थानीयकै लगानीमा बनेको नेपालकै पहिलो जीपलाइन हो। स्थानीय सरकार सञ्चालन ऐनको एकल अधिकार भित्र नपरेको अवस्थामा गाउँपालिका राष्ट्रिय महासङ्घका कार्य सम्पादन समितिका सदस्य समेत रहेका कैलाश गाउँपालिकाका अध्यक्ष मुक्तानले पर्यटन पर्यावरणको प्रवर्धनमा यस खालका विकास स्थानीय तहको एकल अधिकार भित्र हुनुपर्छ भनी प्रस्ताव राखेका थिए ।
कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्दै एक हजार दुई सय मिटर लामो जिपलाइन निर्माण गरिएको अध्यक्ष मुक्तानले बताए। उनले पर्यटन, पर्यावरणको विकासमा कैलाश गाउँपालिका पछि नहटेको बताउँदै जिपलाइन सञ्चालनपछि धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जिपलाइन पारखीको गन्तव्य स्थल रहनेमा उनको विश्वास छ।
धादिङसँग सिमाना जोडिएकाले जिपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको उनले बताए ।
बैकुण्ठमा जिपलाइन सँगै विभिन्न पर्यटकीय पार्क समेत निर्माण भइसकेका छन्। उक्त स्थानमा जीपलाइनका लागि फोरजी कम्पनीले आव २०७९/८० मा एक करोड ९० लाख ९७ हजार खर्च लाग्ने भनी सर्वेक्षण गरी गाउँपालिकामा प्रतिवेदन बुझाएको गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्टले बताए । पालिकाले बहुवर्षिय योजना बनाई दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम(हारनेस) र तार निर्माण गरिएको उनले बताए ।
२०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्या निर्माण सेवासँग ८८ लाख ५६ हजार ७ सात ६१ रुपियाँमा ०८१ फागुन मसान्त सम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको प्रमुख भट्टले बताए ।
जिपलाइनको अघिल्लो आर्थिक वर्षमा ४८ प्रतिशत काम सम्पन्न भएको थियो भने बाँकी अहिले सम्झौता अनुरूप काम सम्पन्न गरी जिपलाइन सञ्चालनको अन्तिम तयारीमा रहेको उनले बताए । पहिलो चरणमा ब्रेकिङ सिस्टम(सोलोप) सम्बन्धी कार्यको परीक्षण भयो भने दोस्रो चरणको परीक्षण पछि सफल परीक्षण गरिने उनले बताए । गोरखापत्र बाट साभार ।







