बरामद गरेको चार महिनापछि सार्वजनिक गर्यो मकवानपुर प्रहरीले एक हजार १५६ किलो गाँजा
हेटौंडा । मकवानपुर प्रहरीले बरामद गरेको लागुऔषध गाँजा चार महिना पछि सार्वजनिक गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन मार्फत प्रहरी उपरीक्षक विश्वराज खड्काले चार महिना पहिले बरामद गरेको एक हजार १५६ किलो लागुऔषध गाँजासहित दुई जनालाई सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी ठुलोदमारको सयुक्त टोलिले गत १० कार्तिकमा हेटौंडा-१८ मैनाचोक स्थित भित्री सडकमा मकवानपुरको छतिवनतर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ११२९ नं. को पिकअपबाट उक्त लागुऔषध गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
प्रहरी देख्नासाथ चालक र सहचालक फरार भएकोमा खोजतलासको क्रममा ७ पुसमा ललितपुर महानगरपालिका वडा नम्बर -१५ तिखेदेवलबाट मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर- ३ स्थायी घर भएका २८ बर्षिया अर्पण भन्ने सुकुलाल सिन्तान र सोही स्थान घर भएका ४० बर्षिय मान सिं गोङलाई २५ पुसमा ललितपुर महानगरपालिका वडा नम्बर-२३ धापाखेलबाट पक्राउ गरिएको उपरीक्षक खड्काले जानकारी दिए ।







