हेटौंडा उपमहानगरपालिका बालमैत्री घोषणा

अखबार हब
२०८१ फाल्गुन १, बिहीबार २०:२७

हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिएको छ ।

बिहीबार एक समारोहकाबीच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरेको हो ।

बालमैत्री घोषणा सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले बालबालिकाको सर्वाङ्गिण विकासको लागि राज्यसँगै परिवारको भूमिका महत्वपूर्ण र अपरिहार्य रहेको बताए । ‘बालबालिकाको सर्वाङ्गिण विकासमा राज्यसँगै परिवारको ठूलो र अपरिहार्य भूमिका छ । यसलाई सबैले ग्रहण गर्न आवस्यक छ,’ उनले भने ।

परिवारले नै प्रत्येक बालबालिकालाई एक असल सन्तान र एक असल नागरिक बनाउन भूमिका खेल्न सक्ने उनको भनाई थियो । मन्त्री सिंहले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभुत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले काम गरिरहेको बताए ।

संविधानमै बालअधिकारलाई मौलिक अधिकारको रुपमा उल्लेख गरेको जानकारी दिँदै उनले तीनै तहका सरकारहरुले अब उपयुक्त योजना र रणनीतिसहित बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

हेटौंडा उपमहानगरपालिका मकवानपुर जिल्लाको चौथो स्थानीय तहका रुपमा बालमैत्री शासनयुक्त घोषणा भएको छ । मकवानपुरको १० पालिकामध्ये यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बागमती प्रदेशका कार्यवाहक मुख्यमन्त्री प्रकाश श्रेष्ठ, संघिय सांसद दिपक बहादुर सिंह, प्रदेश सांसदहरु ईन्द्रबहादुर बानीया, एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामीलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*