मध्यवर्तीका कारण जनताको जीवनशैली असहज भयोः बर्तौला

अखबार हब
२०८१ माघ १२, शनिबार १९:१५

हेटौंडा। नेकपा एमालेका मुख्य सचेतक तथा मकवानपुर क्षेत्र नं २ का सांसद महेश बर्तौलाले मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने बताएका छन् ।

मध्यवर्ती क्षेत्रको कारण मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका केही वडामा जनताको जीवनशैली असहज भएको र विकास निर्माणको काममा समेत बाधा पुगेको उनले बताए ।

शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्य सचेतक बर्तौलाले मनहरीमा रहेको नदी उकाश जमिनमा मध्यवर्तीले काम गर्न नदिएको गुणासो गरेका छन्। सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भएकोमा समेत उनले असन्तुष्टि जनाएका छन् ।

कानुन निर्माणमा पनि कर्मचारी तन्त्रले अनावश्यक हस्तक्षेप गर्न खोजेको समेत उनले गुनासो गरे । मुख्य सचेतक बर्तौलाले अन्र्तराष्ट्रिय प्रतिबद्धताहरु राष्ट्र र जनताको हितमा राखेर गर्नुपर्नेमा समेत जोड दिए ।

मुख्य सचेतक बर्तौलाले हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग बन्द गरेर निजी उद्योगबाट सिमेन्टको मुल्य बृद्धि गर्नु गलत भएको बताएका छन् । सरकारको व्यवस्थापकीय त्रुटिको कारण आज सरकारी उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनको भनाई छ ।

मुख्य सचेतक बर्तौलाले लगानीको वातावरण सिर्जना गरेर सार्वजनिक निजी साझेदारीमा उद्योग सञ्चालन गर्ने मनस्थितिमा सरकार पुगेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्मा, बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*