विद्युतीय माध्यमबाट वन पैदावार विक्रिकाे व्यवस्था मिलाउँदै वन मन्त्रालय
हेटौंडा । वागमती प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले पदबहालीको पहिलो निर्णय मार्फत काठ दाउरा लगायत वन पैदावारको विक्रिका लागि विद्युतीय माध्यमको प्रयोग गरी पारदर्शी र पूर्ण प्रतिस्पर्धी बनाउने कार्यका थालनी गरेका छन् ।
यस निर्णयबाट लिलाम प्रकृया पारदर्शी र विश्वासनीय भै राजस्वमा वृद्धि हुनेछ । साथै यस कार्यबाट प्रचलित वन सम्वन्धी कानूनमा आवश्यक संसोधनको प्रकृया अघि बढने वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधानले बताउनु भयो ।
हाल वन क्षेत्रबाट उत्पादन हुने काठ दाउरा लगायतका वन पैदावार सिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम बढाबढ गरी विक्रि गरिदैँ आएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४६ मा सार्वजनिक खरिदमा विद्युतीय संचार माध्यमको प्रयोगबाट खरिद कारोवार हुन सक्ने कानुनी प्रावधान रहेको देखिन्छ ।
हालसम्म सार्वजनिक खरिद ऐनले खरिद गर्ने मात्र व्यवस्था गरेको सार्वजनिक बिक्रि प्रणालीमा समेत विद्युतीय माध्यमको प्रयोगका लागि आवश्यक नीतिगत सुधार गर्न खोजिएको छ । वन क्षेत्रबाट उत्पादन भै व्यापारिक एवं व्यवसायिक प्रयोजनको लागि लिलाम गर्दा विद्युतीय संचार माध्यमको प्रयोग गर्दा लिलाम प्रकृयालाई पूर्ण प्रतिस्पर्धी हुने, विचौलियाहरुको संलग्नतामा कमी हुने र पूर्ण प्रतिस्पर्धी हुने हुनाले राजस्वमा वृद्धि हुने र लिलाम प्रकृया पारदर्शी र विश्वासनीय वनाउन सकिने देखिन्छ । यसका लागि आवश्यक बजेट समेत चालु आर्थिक वर्षमा व्यवस्था गरि सकेको मन्त्रालयले जनाएको छ ।
वन नियमालली,२०७९ को नियम २५ को उपनियम (१) मा व्यापारिक एवं व्यावसायिक प्रयोजनका लागि काठ दाउरा लिलाम गर्दा पूर्ण प्रतिस्पर्धाको आधारमा गर्नु पर्ने र वन नियमालली, २०७९ को नियम २५को उपनियम (१क) लिलामको सूचना तत्काल सम्बन्धित कार्यालय, प्रदेश मन्त्रालय र निर्देशनालयको वेबसाइटमा राख्नु पर्ने व्यवस्था गरेको छ ।







