इलाम–२ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने, शनिबार उम्मेदवारी घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनका लागि शनिबार उम्मेदवारी घोषणा गर्ने भएको छ ।
रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका- ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्ने भएको हो ।
रास्वपाले बिहीबार मात्रै इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, सह—प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
आगामी वैशाख १५, २०८१ मा इलाम–२ मा उपनिर्वाचन हुँदैछ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते राति हृदयघातका कारण निधन भएको थियो ।
उनको निधन भएपछि रिक्त रहेको उक्त पदमा निर्वाचन हुन लागेको हो ।







