बागमतीमा आलोपालो मुख्यमन्त्री हुने गठबन्धनको सहमति

अखबार हब
२०८० चैत्र १५, बिहीबार १९:४१

मकवानपुर । बागमती प्रदेश सरकारलाई टिकाउन सत्तारुढ गठबन्धनले हाम्रो नेपाली पार्टीसँग पाँच बुँदे सहमति गरेको छ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच सहमति भएको हो। चारै दलले प्रदेश सभाको बाँकी पूरै कार्याकाल सहाकार्य गर्ने सहमति गरेका छन्।

त्यस्तै, प्रदेश सरकारको नेतृत्व पनि आलोपालो गर्ने जनाइएको छ। पाँच बुँदे सहमतिको दोस्रो बुँदामा भनिएको छ, ‘केन्द्रीयस्तरमा बनेको सत्ता समीकरणको निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने निर्णय गरियो।’

हाम्रो नेपाली पार्टीलाई पनि सरकारमा सहभागी गराउने सहमति बनेको छ। सहमतिमा भनिएको छ, ‘प्रदेश सरकार गठनका सन्दर्भमा सहभागी दलहरूको सहमतिको आधारमा मात्र मन्त्रिपरिषद्‌को संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय गरियो।’

११० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ। अहिले सत्तारुढ गठबन्धनमा रहेका एमालेका २७, माओवादी २१ र एकीकृत समाजवादीको सात सांसद छन्। दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले समर्थन गर्दा बहुमत पुग्छ।

त्यस्तै, विपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ र नेपाल मजदूर किसान पार्टीका तीन सांसद छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*