राक्सिराङ्गका कृषकलाई उन्नत जातका बोयर बोका

अखबार हब
२०८० फाल्गुन १२, शनिबार १९:३०

मकवानपुर । राक्सिराङ्ग गाउँपालिकाले कृषकहरुलाई ११ वटा बोयर बोका वितरण गरेको छ ।

गाउँपालिकाले एक कार्यक्रमका बीच शुक्रबार विभिन्न वडाका ११ जना कृषकलाई ११ वटा उन्नत जातिको बोयर बोका वितरण गरिएको हो ।

व्यावसायिक पशुपालन प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न वडाका ११ जना कृषकलाई बोयर बोका वितरण गर्दै गाउँपालिका अध्यक्ष राज कुमार मल्लले व्यावसायिक रुपमा बाख्रा पालन गरे स्थानीय सरकारको पूर्णरुपमा सहयोग रहने बताएका छन् ।

वडाको माग अनुसार मौरी, चिउरी, गाई लगायतका विभिन्न कृषिमा निर्भर हुने आयमुलक कार्यमा पालिकाको सहयोग रहने मल्लले बताए । ‘हाम्रो क्षेत्रमा बाख्रा पालनको लागि राम्रो ठाउँ भएकोले बाख्रा पकेट क्षेत्र बनाउदै छौ। त्यस्तै बाख्राको लागि उन्नत घाँसको व्यवस्था पनि हुनेछ’, अध्यक्ष मल्लले भने ।

वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, पशुपन्छी शाखाको संगम बिश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*