पूर्वराजा ज्ञानेन्द्र शाह आज हेटौंडा आउँदै

अखबार हब
२०८० माघ ७, आईतवार १०:५३

मकवानपुर। पूर्वराजा ज्ञानेन्द्र शाह आज हेटौंडा आउने भएका छन् । उनी आउने भएपछी हेटौंडाका विभिन्न स्थानमा ठुलै तामझाम समेत गरिएको छ । बिशेषगरी उनी आउने भएपछी राप्रपा मकवानपुरले निकै तामझाम गर्न थालेको छ । जम्मो टोलिसहितको मुल समारोह समितिनै बनाएर राप्रपा मकवानपुरले शाह आउने दिनका लागि तयारी गरेको हो ।

शाहले हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि उनी आउने भएको राप्रपाका सांसद दिपक बहादुर सिंहले बताए।

मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य तथा संसद्को पूर्वाधार विकास समितिका सभापति समेत रहेका सिंहले आज हुने कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको बताए । पूर्वराजा शाहलाई आज दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने बताइएको छ ।

उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर जानेछन् । शुभेच्छुकसँग उनले सोही दिन हेटौंडा रिसोर्टमा भेटघाट गरेर आजै काठमाडौं फर्किने कार्यतालिका रहेको राप्रापा मकवानपुरका प्रवक्ता आयुष डोटेलले बताए ।

यसैगरी हेटौंडा आउन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने भएको छ । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका शाहलाई स्वागत गर्ने भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टी जिल्ला समितिको शुक्रबार बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँट भएको उनले बताए । उनले भने, ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ, हामी तयारीमा जुटिसकेका छौं ।’

यसमा तपाइको मत

Your email address will not be published.


*