जनप्रतिनिधिदेखि सिडिओसम्मको मिलेमतोमा अवैध रुपमा मनहरी खोला दोहन
मकवानपुर । मनहरी खोलामा स्वार्थ समूहको इच्छा बमोजिम जनप्रतिनिधिदेखि जिल्लाका प्रशासकसम्म सहयोगी बन्दा अवैध खोला दोहन भइरहेको खुलेको छ ।
कानुन विपरितका कार्य नियन्त्रण गर्ने दायित्व बोकेर बसेका जनप्रतिनिधिदेखि जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) नै अवैध कामको पक्षपोषणमा देखिएका छन् । घटना हो, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मनहरी खोलाको । मनहरी बजारबाट करिब ५ सय मिटर भित्र (राक्सिराङतर्फ) खोलामा अवैध दोहन रोकिएको छैन् ।
मनहरी खोलाले दुई गाउँपालिकालाई छुट्याएको छ । खोलाको दक्षिणतर्फ मनहरी गाउँपालिका र उत्तरतर्फ राक्सिराङ गाउँपालिका छन् । खोलाको दक्षिणतर्फ मनहरी गाउँपालिकाको कार्यक्षेत्रमा पर्ने दुई वटा क्रसरले अवैध खोला दोहन गरिरहेका हुन् ।
मनहरी क्रसर उद्योग र दारिमबास बालुवा उद्योगले भदौदेखि मंसिरसम्म पनि खोला दोहोन गरिरहेका छन् । गैरकानुनी रुपमा खोला दोहन भइरहँदा पनि जिल्ला अनुगमन समिति संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, समिति सहसंयोजक रहेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्यप्रसाद सेढाई, सम्बन्धित गाउँपालिका प्रमुख रञ्जन कालाखेती, गाउँपालिकाको अनुगमन संयोजक उपप्रमुख सिता पुलामी मगरसम्म चुपचाप देखिएका छन् । मनहरी खोला दोहनमा जनप्रतिनिधिदेखि सिडिओसम्म मिलेमतो भएको प्रमाण नै प्राप्त भएको छ ।
राक्सिराङ गाउँपालिका कार्यालयले मंसिर ४ गते मनहरी गाउँपालिका कार्यालयलाई पत्राचार गर्दै जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी, डिभिजन वन कार्यालय राप्ति, इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरलाई बोधार्थ दिएर अवैध दोहन रोक्न अनुरोध नै गरेको थियो । तर, स्वार्थ समूहको खोलामा भइरहेको रजाईं नदेख्ने जिसस प्रमुख, सिडिओ र मनहरी अध्यक्षको व्यवहारले मनहरी खोला दोहनमा मिलेमतो रहेको प्रष्टै देखिन्छ । राक्सिराङ गाउँपालिकाले पटक–पटक मौखिक अनुरोध गर्दासमेत दोहन नरोकिएपछि अन्तिममा मात्रै पत्राचार गरेको अध्यक्ष राजकुमार मल्ल बताउँछन् ।
‘मैले पटक–पटक मौखिम रुपमा अनुगमन समितिका संयोजक जिसस प्रमुख घलानदेखि सिडिओ, मनहरीका अध्यक्षलाई पनि अनुरोध गरेको थिएँ । कतैबाट खोला दोहन रोक्न प्रयास नभएको पाइएपछि पत्राचार नै गर्नुपरेको हो । पत्राचार गरेर दोहन रोक्न भन्दा पनि रोकिएको छैन् । धेरै पटक हाहारगुहार गर्दा पनि केही भएन ।’, मल्ले भने । दुई क्रसरले महिनौदेखि दोहन गरिरहेको मनहरी खोलाबाट करिब ५ सय घरधुरी रहेको मनहरी बजार नजिकै पर्छ । ५ सय घरधुरीलाई प्रत्यक्ष असर पुग्ने गरी खोला दोहन हुँदा पनि सम्बन्धित निकाय मौन देखिनु आश्चर्यजनक छ ।
मनहरी क्रसर उद्योग र दारिमबास बालुवा उद्योगले दोहन गरिरहेको खोलामा वातावरणीय प्रभाव मूल्यांकन (आइईई) स्वीकृत नभएको राक्सिराङ गाउँपालिकाले जानकारी दिएको छ । चालू आर्थिक वर्ष २०८०/८१ मा जिल्ला अनुगमन समितिले जिल्लाका १० वटै स्थानीय तहमा नदीजन्य पदार्थ उत्खनन्का लागि अनुमति दिएको छैन । जरिवाना नतिराई मनहरी गाउँपालिकाले नै अवैध नदीजन्य पदार्थ उत्खनन्मा पक्षपोक्षण गरिरहेको छ । चालु आवमा जिल्ला अनुगमन समितिले नयाँ वातावरणीय प्रभाव मूल्यांकन (आइईई) स्वीकृत नगर्नु, उत्खननमा ठेक्का लगाउन वा अमानतमा संकलनको अनुमति नदिएकाले सिधै खोलाबाट उत्खनन् गर्न पाईंदैन ।
मापदण्ड अनुसार विगतमा स्टक प्रमाणित भइसकेको ढुंगा, गिट्टी बालुवा राजश्व तिरेर निकासी गर्न र आइईई स्वीकृत भएको स्थानबाट मात्रै उत्खनन् गर्न पाइन्छ । मापदण्ड विपरित उत्खनन् भएमा ऐनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्छ । कानुनविपरित भएको उत्खननमा प्रदेश आर्थिक ऐनको अनुसूचि ६ बमोजिम प्रत्येक पटकको ढुवानीमा राजश्व तिरेको निस्सा र चलान पुर्जा साथमा रहेको नभेटिएमा (अप्रशोधित सामग्रीका हकमा) सवारीसाधनको क्षमताअनुसार सवारीको प्रति घनमिटर क्षमतामा १ हजारकादरले जरिवाना गराउनुपर्ने व्यवस्था छ ।
मनहरी क्रसर उद्योग र दारिमबास बालुवा उद्योगले रातको समयमा नदीजन्य पदार्थ चोरी गर्दै आएको पाइएको छ । मनहरी खोलामा नदीजन्य पदार्थ निकालिएको खाल्डाखुल्डी कयौं छन् । जुन, सर्वसाधारणका लागि ‘काल’ बन्न सक्ने जोखिम छ । हिउँदमा मनहरी खोलाबाटै कौलाश र राक्सिराङ गाउँपालिका चल्ने सवारीसाधन र सर्वसाधारण हिँड्डुल गर्दछन् । ‘यहाँबाट दैनिक मान्छेहरु हिँड्डुल गरिरहन्छ । पानीको दह बनेको खाल्डामा परेर कुनै मानवीय क्षति भएमा दोषि को हुन्छ ?’, राक्सिराङ अध्यक्ष मल्ल भन्छन् ।
राक्सिराङ गाउँपालिकाबाट आएको पत्रको विषयमा छलफल भइरहेको जिसस प्रमुख घलानले बताए । उनले खोला दोहन भएको क्षेत्रमा अनुगमन जाने बताए । घलानले दोहन भइरहेको विषयमा मनहरीले चासो लिनुपर्ने दाबी गरे । जब की जिल्ला अनुगमन समितिको संयोजक नै घलान छन् । गलत भएको पाइएमा कारबाही गर्ने बताए । ‘मनहरीको चासोको विषय हो । मनहरीले हामीलाई पत्राचार गर्नु पथ्र्यो । मनहरीले कुनै जानकारी दिएको छैन् ।’, उनले भने ।
प्रमुख जिल्ला अधिकारी सेढाईंले खोला उत्खनन् भइरहेको सूचना दिने स्रोतसँगै आधिकारिक जानकारी लिनूस् भन्ने जवाफ दिए । उनले मनहरी खोलामा भइरहेको दोहनको विषयमा कुनै जानकारी नआएको भन्दै पन्छिन खोजे । मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले राक्सिराङ गाउँपालिकाले गरेको पत्राचारको विषयमा अनविज्ञता देखाए । ‘मलाई अध्यक्षज्युले फोन चाहीँ गर्नु भएको थियो । गाउँपालिकामा पत्र फेला पारेको छैन् । म व्यस्त भएँ ।’, उनले भने ।
मनहरी खोलाबाट राती नदीजन्य पदार्थ चोरी निकासी भइरहेको बारे आफूलाई यसअघि नै जानकारी आएको र मनहरी प्रहरीलाई खबर गरेको र प्रहरीले कोही नभेटिएको जवाफ दिएको उनले बताए । दोहन भएको क्षेत्र अध्यक्ष कालाखेतीको घरबाट २ किलोमिटर दुरीमा मात्रै छ । ‘त्याहाँ गएर बुझ्दा खोलामा खाल्डो देखियो । साधनहरु केही भेटिएन् । हामीले सोध्दा खरिद गरेर ल्याएको माल हो भन्यो ।’, उनले प्राविधिक पठाएर स्टक जाँच गर्ने र दोषि देखिए कारबाही गर्ने बताए ।
खोला नै थुनेर क्रसर
मनहरी गाउँपालिकाको ७ नम्बर वडास्थित दारिमबास क्षेत्रमा रहेका दुवै क्रसर उद्योग अवैध हुन् । पुल, बस्ती र वन क्षेत्रबाट ५ सय मिटर टाढा मात्रै क्रसर उद्योग राख्न पाइन्छ ।
तर, मनहरी क्रसर उद्योग र दारिमबास बालुवा उद्योग मादपण्डविपरित बनेका छन् । मनहरी बजारबाट ५ सय मिटर नजिकै र वन क्षेत्रसँगै जोडिएका क्रसर र बालुवा उद्योग निर्वाध सञ्चालन भइरहेका हुन् । क्रसरले मनहरी खोला नै कब्जा गरेर नदीजन्य पदार्थ घाटगद्दी गरेको छ । मनहरी क्रसर नयाँ खुलेको हो । यहाँ घाटगद्दी भएको नदीजन्य पदार्थको स्टक सम्बन्धित निकायमै देखिँदैन् ।
खोला नै थुन्ने गरी स्थापित क्रसरका कारण नजिकैको मनहरी बजारमा देखिएको सम्भावित खतरा बारे जनप्रतिनिधिदेखि सरोकारवाला निकाय नै मौन छन् । यहाँ रहेका क्रसरहरुले सरकारी जग्गा अतिक्रमणसमेत गरेको दाबी गरिएको छ ।










