मकवानपुरमा ६३ प्रतिशत जनता कृषक

अखबार हब
२०८० कार्तिक २०, सोमबार १९:५३

मकवानपुर । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार मकवानपुरमा ६३ दशमलव ८ प्रतिशत जनता कृषि पेशामा आवद्ध रहेको पाइएको छ ।

सोमवार हेटौंडामा कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ अनुसार जिल्लामा ६३ दशमलव ८ प्रतिशत जनता कृषि कर्ममा रहेको पाइएको हो ।

कार्यलयका अनुसार नेपालमा जम्मा घरपरिवार मध्ये ५२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवार ७१ प्रतिशत देखाएको जनाएको छ । बागमती प्रदेशमा भने ४२ दशमलव पाचँ प्रतिशत रहेको पाइएको छ ।

गणना अनुसार नेपालमा ७० दशमलव ४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य श्रोत कृषिकार्य रहेको देखाएको छ । यसरी नै बागमती प्रदेश र मकवानपुर जिल्लामा आम्दानीको मुख्य श्रोत कृषिकार्य हो भनी बताउने कृषकको प्रतिशत क्रमशः ७२ दशमलव ६ र ८१ दशमलव २ प्रतिशत रहेको पाइएको छ । अघिल्लो कृषिगणनाले यो प्रतिशत ८३ दशमलव १ प्रतिशत देखाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषि पेशामा आवद्ध कृषकहरुलाई प्रविधिमैत्री भएर कृषि गर्न आग्रह गरेका छन् । उनले प्रविधिमैत्री कृषि पेशा आजको आवश्यक्ता रहेको औल्याएका छन् ।

मन्त्री श्रेष्ठले तथ्याङ्कको तथ्य घट्दा र बढ्दाको अवस्थामा स्थानीय र प्रदेश सरकारले बढि ध्यान दिनुपर्ने बताए । अंक संख्या घटबढ ठुलो कुरो होईन त्यसले पार्ने प्रभाव चाहीँ ठुलो कुरो हो, मन्त्री श्रेष्ठले भने । सार्वजनिक तथ्याङ्कलाई आत्मसात गर्दै प्रदेश सरकारले पनि सोही अनुरुप कार्यान्वयनमा लैजानु पर्ने भन्दै उनले आजको आवश्यकता प्रविधि अवलम्बन भएकाले यसलाई उपयोग गरि पेशा गर्न जोड दिए । उनले थोरै जमिनमा धेरै उत्पादन गर्नतर्फ किसान उन्मुख हुनुपर्ने भन्दै कृषकले रसायनिक मलको उपलब्धतालाई मध्येनजर गर्दै प्राङ्गारिक मल प्रयोगमा जोड दिनुपर्ने बताएका छन् ।

कार्यलयले देशका सात सय ५३ वटैस्थानीय सरकारको संरचनागत रुपमा कृषिगणना गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए । प्रतिनिधित्व हुने गरी तीन लाख ३० हजार एक सय १२ कृषक परिवार छनौट गरी कागजी र ट्याबलेट मार्फत तथ्याङ्क संकलन गरिएको कार्कीले जानकारी दिए । कृषक परिवार सुचीकरण लगत, कृषक परिवार प्रश्नावली र वडास्तरीय सामूदायिक प्रश्नावली तयार पारी ७ हजार जनशक्ति परिचालन गरि तथ्याङ्क लिइएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*