हेटौंडाको ‘जस्ट वाटर’ सिलप्याक पानीको बोतलमा अखाद्य बस्तु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ११ थानाभर्याङ स्थित जस्ट वाटर प्रालिले उत्पादन गरेको सिल प्याक पानीको बोतलमा अखाद्य बस्तु भेटिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर – १९ बस्तीपुर स्थित एक किनारा पसलबाट सिल प्याक गरिएको ‘जस्ट वाटर’ नामक पानीको बोतल भित्र हानिकारक पदार्थ भेटिएको हो ।
स्थानिय उपभोक्ताले पानी किनेर पिउँने क्रममा बोतलभित्र यस्तो पदार्थ फेला परेको हो । स्थानियले भने ‘म आफैँ पानी पिउने क्रममा बोतल भित्र हानिकारक पदार्थ भेटे, म्याद कायम रहेको ‘जस्ट वाटर’ नामक सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ भेटेको हो ।’ सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ भेटिएसँगै उपभोक्ताले उक्त बोतल अखबारहवको कार्यालयमा ल्याएका छन् ।
सिल प्याक गरिएको पानीको बोतल भित्र हानिकारक जस्तो देखिने पदार्थ भेटिएपछि स्थानियले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको बताएका छन् ।
नेपालमा सिल प्याक गरिएको खानेपानीको जार तथा मिनरल वाटर बोतलको गुणस्तरमाथि धेरै प्रश्न उठ्ने गरेको छ । सिल प्याक गरिएको भाँडामा लेऊ, हानिकारक पदार्थ, किरा लगायतका अखाद्य बस्तुहरु बेलाबेलामा भेटिने गर्दछ ।
स्वच्छ खानेपानीका लागि आजभोलि जार तथा मिनरल वाटर बोतल किनेर खाने प्रचलन बढ्दो छ । तर स्वच्छ पानीका लागि भनेर बढी पैसा तिरेर खाने भएपनि बेलाबेलामा यस्तो पानीमा पनि अखाद्य बस्तु भेटिएका घटनाहरु धेरै पटक सञ्चार माध्यममा आउँदासमेत सम्बन्धित निकायले चासोे देखाएको पाइदैन ।







