हेटौंडाबाट सालको चिरान काठसहित तीन जना पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ शक्तिश्वरबाट सालको चिरान काठसहित तीन जना पक्राउ गरेका छन् । मंगलबार(आज) दिउँसोको समयमा ३८ दशमलव २५ क्यु फिट सालको चिरान काठसहित तीन जना पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेहरुमा स्थानीय ५५ बर्षीय बाल कृष्ण चौलागाई, ३८ बर्षीय नेत्र बहादुर मगर र ५३ बर्षीय धन बहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अस्थानी प्रहरी पोष्ट हटियाबाट खटिएको टोलीले चौलागाईंको घर नजिकै बारीमा काठ काटिरहेको अवस्थामा उनीसहित मगर र पुलामीलाई पक्राउ गरेको हो ।
चौलागाईंको घर नजिकै बारीबाट सालको चिरान काठ र गोलाई २५ दशमलव २८ क्यु फिट र उनको घरबाट १२ दशमलव ९७ क्यु फिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बरामद गरी उक्त काठ सहित तीनै जनालाई नियन्त्रणमा लिएर सब डिभिजन बन कार्यालय हर्नामाडी, मकवानपुरमा पठाईएको प्रहरीले जनाएको छ ।







