डाक्टर कुटपिट प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो
मकवानपुर । हेटौंडास्थित सञ्चो अस्पतालमा दूई जना डाक्टरमाथि कुटपिट घटना संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१२ सिक्रेनी बस्ने ३६ बर्षीय जिवन लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिडिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका वडा नं।१५ रातोमाटेबाट शुक्रबार दिउँसो लामालाई पक्राउ गरिएको हो । हालसम्म चिकित्सक कुटपिट तथा दुब्यवहार घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
यसअघि हेटौंडा–१२ सिक्रेनी बस्ने ४० वर्षीय सुनिल पाख्रिन, रमा प्रधान, रोहित प्रधान, रमिता प्रधान, अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका मध्ये रमा मृतककी श्रीमती, रोहीत छोरा, रमिता छोरी र अनुप भतिज हुन् ।
हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा डाक्टरको लापरबाहीको कारण मृत्यु भएको भन्दै मृतकका आफन्तसहित एक समूहले गत भाद्र २७ गते डा।विकास थापा र डा। प्रशान्त विडारीमाथि कार्यकक्षमै कुटपिट गरेका थिए ।
कुटपिट पश्चात देशभरका चिकित्सकहरु आन्दोलित भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकमीहरुबीच ६ बुँदे सहमति भएपछि चिकित्सकहरुको आन्दोलन रोकिएको थियो । सोही सहमति अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
घटनाको अनुसन्धान नसकिएको तेस्रो पटक म्याद थप गर्ने तयारी भइरहेको प्रवक्ता भण्डारीले बताए । यद्दपी मृतक पक्षधरहरु उक्त निर्णयप्रति असन्तुष्टि ब्यक्त गरिरहेका छन् ।







