सुन तथा नगद चोरी गर्ने चार जना पक्राउ

अखबार हब
२०८० भाद्र १०, आईतवार १९:०२

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुनका गरगहना तथा नगद चोरी गर्ने चार जानालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ लामसुरेधाप स्थित सुशिला साउदको घरबाट नगद ३० हजार, सुनको सिक्री डेढ तोलाको १ थान, सुनको बाला १ तोलाको एक थान, सुनको चन्द्र हार एक तोलाको एक थान, सुनको टप ४ आनाको एक जोडी, सुनको मुन्द्र २ आनाको १ जोडी र घडी १ थान समेत गरी पाँच लाख ३२ हजार बराबरको गरगहना चोरी गर्ने समुहलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको प्रहरी उपरिक्षक सीताराम रिजालले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरु चारजनाको समूह २ वटा मोटरसाईकलमा २९ गते काठमाडौबाट हेटौडा आएको दिउँसोको समयमा बन्द रहेको घरहरु हेरेको सोही दिन राती हेटौडा बसपार्कको होटलमा बसेर भोलीपल्ट ३० गते ११ बजेको समयमा साउदको घर फोडी चोरी गरेको प्रहरी अनुसन्धानले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा ७ बस्ने २८ वर्षका भीमलाल लामा, २८ वर्षकै प्रदीप तामाङ र २९ वर्षका आकाश तामाङ रहेका छन् भने चोरीको सुन खरिद गर्ने सोही ठाउँका हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ स्थितमा रितु सुन पसल सञ्चालन गर्ने ३९ वर्षका राजेन्द्र रसाइली रहेको प्रहरी प्रमुख रिजालले बताए ।

चोरीमा संलग्न अर्को एकजनाको खोजी कार्य भइरहेको र पक्राउ परेकालाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*