२ अर्ब भन्दा बढी विद्युत महसुल तिर्न शिवम्को आनाकानी

अखबार हब
२०८० भाद्र १, शुक्रबार ११:०१

मकवानपुर । हेटौंडा–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकारण हेटौंडा वितरण शाखालाई तिर्नु पर्ने विद्युत महशुल अझै बुझाएको छैन् ।

शिवमले उद्योग सञ्चालनका लागि लिएको डेडिकेटेड फिडरको महसुल तिर्न आनाकानी गर्दै आएको छ । प्राधिकरणका लेखापाल हरी खड्का अनुसार सिमेन्ट उद्योगले विद्युत् प्राधिकरणलाई दुई अर्ब २४ करोड रुपैयाँ महसुल तिर्न बाँकी रहेको छ ।

उद्योगले २०७२ सालदेखि ०७५ सम्म शिवमले प्रयोग गरेको डेडिकेटेड फिडरको महसुल तिर्न अटेर गर्दै आएको हो । ६ वर्षदेखि डेडिकेटेड फिडरको महसुल नतिरेको शिवमले सर्वोच्च अदालतलाई पनि अटेर गर्दै आएको छ ।

तीन वर्षसम्म प्राधिकरण वितरण केन्द्र हेटौंडाको कमाने शाखाबाट डेडिकेटेड फिडर लिएको शिवम् प्राधिकरणको महसुल तिर्न अटेर गर्दै सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले पनि ०७५ सालमै डेडिकेटेड लाइनको विद्युत् महसुल उठाउन प्राधिकरणको नाममा परमादेश जारी गरेको थियो । तर सर्वोच्चको आदेशलाई पनि अटेर गरेको शिवमले अझै पनि महसुल नतिर्ने बताउँदै आएको छ ।

शिवमले प्राधिकरणलाई तिर्नुपर्ने महसुल एक अर्ब २१ करोड मात्रै भए पनि लामो समयसम्म महसुल नबुझाउँदा हाल जरिवाना सहित दुई अर्ब २४ करोड पुगेको नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण शाखाका लेखापाल खड्काले बताए । उनका अनुसार प्राधिकरणले पटकपटक रकम तिर्न ताकेता गर्दा पनि शिवमले अटेर गर्दै आएको छ । शिवमले उद्योग सञ्चालनका लागि छुट्टै विद्युत् प्रसारण लाइन माग गरेपछि प्राधिकरणले कमाने शाखाबाट डेडिकेटेड फिडर उपलब्ध गराएको खड्काले बताए ।

लोडसेडिङ् हटाउने भन्दै ०७५ सालबाट डेडिकेटेड फिडरको व्यवस्था हटेपछि प्राधिकरणले शिवमलाई महसुल तिर्न आग्रह गर्दै बिल पठाएको खड्को भनाइ छ । ३ वर्षसम्म डेडिकेटेड फिडरबाट विद्युत् प्रयोग गरेको उद्योगले महसुल नतिर्ने भन्दै सर्वोच्च गएको खड्काले बताए ।

तर सर्वोच्चले पनि उद्योगविरुद्ध र प्राधिकरणको पक्षमा आदेश दिएयता शिवम् महसुल तिर्नबाट भाग्दै आएको छ । खड्का अनुसार शिवम् सिमेन्टको मुद्धामा सर्वोच्च र उच्च अदालते फैसला गरेपनि जिल्ला अदालतमा विचारधिन रहेकोले लाईन काट्न नमिलेको बताए । ‘सर्वोच्च र उच्च अदालते हाम्रो पक्षमा फैसला गरेपनि जिल्ला अदालतमा यो मुद्धा विचारधिन अवस्थामै छ ,’ खड्काले भने । उनका अनुसार शिवमले डेडिकेटेड फिडरको महसुल नतिरे पनि मासिक शुल्क भने तिर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*