टिकापुर घटनाबारे सर्वोच्चको पूर्णपाठ – जन्मकैद मिनाहामा गम्भीर प्रश्न

अखबार हब
२०८० श्रावण ३२, बिहीबार २०:२९

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाबारेको रिटको पूर्णपाठ सार्वजनिक गर्दै अमानवीय घटनाको रुपमा व्याख्या गरेको छ ।

बुधबार गएको जेठ २ गते न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको सर्वोच्चले सो घटनालाई सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरुद्धको अत्यन्त अमानवीय, क्रूर र निर्मम घटनाको रुपमा व्याख्या गरेको छ ।

‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरुद्ध अत्यन्त अमानवीय, क्रूर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्का रहित तवरले पुष्टि हुन आयो ’ पूर्ण पाठमा सर्वोच्चले भनेको छ ।

पूर्ण पाठले निर्दोष र निहत्था नागरिकको अकारण सामूहिक हत्या गर्नु राजनीतिक घटना नहुने स्पष्ट पारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई दिएको माफी मिनाहालाई अदालतले गम्भीर प्रश्न उठाएको छ ।

कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले दोषी ठहर गरेर जेल सजायँ भोगिरहेका उक्त घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरी सर्वोच्चको फैसला लगतै गणतन्त्र दिवसको अवसर पारेर १५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सजाय माफ पाएर छुटेका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित आठ जना प्रहरीको हत्या गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*