बालुवाटार बैठक : दुईघण्टादेखि बैठक जारी, सहमतिको सम्भावना न्यून
काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्न बालुवाटारमा जारी बैठकमा सहमति जुट्ने सम्भावना नदेखिएको भन्दै नेताहरु बाहिरिन थालेका छन् ।
बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूबीच दुई घण्टादेखि चलेको बैठकमा एमालले राज्यका संयन्त्रलाई केही पनि नभएको भन्दै आयोग बनाउने पर्ने अडान नछोडेपछि सहमतिको सम्भाना नदेखिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।
बैठकबाट बाहिरिएपनि फोनमा उनले भने ‘ एमालले राज्यका सयन्त्र, प्रहरी प्रशासन, सिआइवी केहीपनि होइन् आयोग नै बन्नु पर्छ भनेपछि कसरी सहमति हुन्छ । मैले चै सम्भावना नदेखेपछि बाहिरिएको छु । अरु साथीहरु नेताहरु पनि बाहिरिन थाल्नु भएको छ । ’
भनेपछि आजपनि सहमति भएन् ?‘म निस्किदाँसम्म भएको छैन् । हुने सम्भावना पनि देखेको छैन् उनले भने ।’
सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताको शीर्ष नेता सहभागी छन् । केहीबेरअघि बैठकबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक बाहिरिएका छन् ।
अहिले प्रधानमन्त्री, सभामुखसहित एमालेका अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्वाङ र सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे छलफलमा छन् ।
एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ । हिजो सिंहदरबार र बानेश्वरमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज पुनः बालुवाटारमा जुटेका हुन् ।
प्रतिनिधिसभा बैठक ३ बजेका लागि बोलाइएको छ ।







