एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई
काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई बुझाएको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण,तथ्य र हिरासतमा रहेका १७ जना समेत नेपाल प्रहरीलाई बुझाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताए । उनले अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने र राजश्व अनुसन्धान गर्दै जाँदा यो सँग अन्य कानूनहरु पनि आकर्षित हुने अवस्था देखिएको बताए ।
उनले संगठित रुपमा सुनको व्यापार गर्ने देखिएका र नेपालको कानून अनुसार यो प्रकरणमा संगठित अपराध सम्बन्धी कानून आकर्षित हुने भएकाले नेपाल सरकार महान्यायाधिवक्ता,नेपाल प्रहरी र राजश्व अनुसन्धानले प्रहरीलाई सामेल गराउने निर्णय गरेको जानकारी दिए ।
उहाँले नेपाल प्रहरीलाई पनि सुन तस्करी प्रकरणको अनुसन्धानमा सामेल गराउँदा बढी यर्थाथपरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने जनाएको छ । पक्राउ परेका सबै आरोपित,तथ्य प्रमाणहरु समेतलाई प्रहरीको जिम्मा लगाएको हो। महानिर्देशक ढुंगानाले २ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरी ३ गते परिक्षण भएर सुन प्रमाणित भएपछि अनुसन्धान गरी विभिन्न तथ्यहरु भेटाएको बताए ।
हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म १४ जना नेपाली , २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेको एक जनालाई हाजिरी जवानीमा छाडिएको जानकारी दिए ।







