लम्पी स्किन रोगको तत्काल नियन्त्रणको माग गर्दै एमालेको प्रदर्शन

अखबार हब
२०८० श्रावण १७, बुधबार १६:३९

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ ।

बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताएका हुन् । उनीहरुले लम्पी स्किन देशव्पयापी रुपमा फैलिसक्दासमेत सरकारले आवश्यक चासो नदिएको गुनसो गरे । प्रदर्शन कार्यक्रममा बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताए ।

उनले भने, ‘सातै प्रदेशमा प्रदेश सरकार छन्, ७ सय ५३ वटै स्थानमा सरकार छन्, अहिले १ अर्ब बढीको क्षति भइसकेको छ, लम्पी स्किनबाट । ७६ जिल्लामा पशु मरेका छन् । सबैतिर फैलिसक्यो । तरपनि सरकार कुम्भकर्ण निन्द्रामा छ । सबैलाई दुख्यो तर सरकारलाई दुखेन । त्यसैले सडकबाट सरकारको ध्यानाकर्षण गराएका हौँ ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले देशको आर्थिक अवस्था थला परिरहेको बेलामा लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको र पशुवस्तुमा क्षति पुगेका किसानलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताएका छन् ।

उनले भने ‘अहिले देशभर १० लाखको हाराहारीमा संक्रमित भइरहेका छन् । राज्यका तर्फबाट चालिएका कदममा ३ लाख पशुवस्तुमा खोप लगाइएको भनिएको छ, अरु कुरामा ढिलासुस्ती छ । खोपमा पनि ढिलो भइरहेको छ, पशु बीमा सम्बन्धी कार्यक्रम पनि अड्किएको छ । यो महामारी तत्काल नियन्त्रण गर्न नसके २५ लाख पशुवस्तुमा संक्रमण हुने र १ खर्बको क्षति पुग्ने विज्ञको अनुमान छ, त्यसैले राज्यले प्रभावकारी काम गरोस् । ’

प्रदर्शनमा सहभागीहरुले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बीमा उपलब्ध गराउ, किसानलाई गोठगोठमा सेवा उपलब्ध गराउ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*