सुन प्रकरणको छानबिन गर्न छुटै समिति बनाउँन सत्ता पक्षकै माग
मकवानपुर । सुन तस्करी प्रकरण छानबिनका लागि छुट्टै समिति गठन गर्न सत्तारुढ सांसदहरुले नै सरकार समक्ष माग राख्न थालेका छन् ।
प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलल पनि सोही कुरामा जोड दिएका हुन् ।
मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताएका हुन् । छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसदले कडा निगरानी राख्नुपर्ने समेत बताए ।
‘राज्यको जुन ढंगको गम्भिरता हुनुपर्ने हो, त्यो ढंगको गम्भिरता देखिएको छैन । संसदमा छलफल हुनुपर्छ । छानबिन समिति बनाउनु पर्छ । त्यसको टेक्निकल कुरा पनि बुझेका मान्छेहरु राखेर छानविन समिति बनाउनु पर्छ । छानविन समिति निष्पक्ष हुनुपर्छ । मैले त पूर्व न्यायाधिशको नेतृत्वमा छानविन समिति बनाउने, त्यसलाई संसदले निगरानी गर्ने, सम्पूर्ण टेक्निकल पार्टलाई ख्याल गरेर यो सुन तस्करीको जुन पछिल्लो घटना आएको छ । यसको निर्मम ढंगबाट छानबिन गरिनुपर्छ ।’उनले भने ।
सुन प्रकरण छानबिनको विषयलाई सरकारले गम्भिरतापूर्वक नलिएको आरोपसमेत आरोप लगाएका छन् ।







