कोशीका सभामुख गौतमले दिए राजीनामा

अखबार हब
२०८० श्रावण १६, मंगलवार १६:४४

मोरङ । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गोतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको बताए ।

गौतमले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन राजीनामा दिएको बताए । उनले आफ्नो राजीनामा निकास नभएको तर परिस्थितिवस राजीनामा दिएको बताए ।

राजीनामा दिएपछि गठबन्धन दलको समर्थनमा कांग्रेसका नेतम उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका दाबी पेस गर्न जाने तयारी थालेका छन् ।

सभामुखबाट राजीनामा नदिने अडानमा रहेका गौतम सोमबार आफूलाई मुख्यमन्त्री बनाए राजीनामा दिन सहमत भएका थिए । तर गठबन्धन दलले मुख्यमन्त्रीमा कांग्रेस नेता थापाको नाम अघि सारेपछि उनी प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालको पहलमा राजीनामा गर्न बाध्य भएका हुन् ।

उनको राजीनामाले गठबन्धन दल कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गर्न बहुमत पुगेको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि थापालाई विश्वासको मतका लागि राप्रपाको समर्थन अपरिहार्य हुन्छ । तर राप्रपाले गठबन्धनको सरकारलाई समर्थन नगर्ने प्रस्ट पारिसकेकाले उनको सरकार ३० दिनका लागि मात्रै हुने देखिएको हो । त्यसपछि प्रदेशसभाको सबभन्दा धेरै सदस्य भएका दल एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुने अवस्था आउने देखिएको हो ।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याएको हो ।

एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत भएका छन् । गौतमलाई सभामुख पद छोडेकाले मन्त्री बनाउने निष्कर्षमा पार्टी पुगेको माओवादीका एक सांसदको भनाइ छ । तर गौतम मन्त्रीमा जानेरनजाने अहिले नै भने निर्णय भइनसकेको उनको भनाइ थियो ।

सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहेका सभामुख गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङले गठबन्धन दल कांग्रेसका नेता थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निर्णय बिहीबार बदर गर्दै परमादेश जारी गरेपछि खापुङले सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि मंगलबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार आह्वान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*