मुआब्जा दिएर हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्नुस् : निर्माण व्यवसायी संघ
मकवानपुर । हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा निर्माण व्यवसायी संघ मकवानपुरले आफ्नो धारणा सर्वजनिक गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण व्यवसायी संघले सडक विस्तार हुनु पर्ने तर मुआब्जा नपाएका घर जग्गाधनीहरुले क्षतिपूर्ति पाउनुपर्ने धारणा अघि सारेको हो ।
संघका महासचिव राजेन्द्र प्रसाद चौलागाईले विज्ञप्ती जारी गर्दै डिभिजिन सडक कार्यालयले २५ मिटर सडक सिमाभित्र पर्ने संरचना हटाउन ३५ दिने सुचना जारी गरेको र मापदण्ड अनुरुप सडक फराकिलो बनाउने धारणा स्वागतयोग्य रहेको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छः सडक फराकिलो बनाउनुपर्छ तर विकासको नाममा मुआब्जा नपाएका घरधनीहरुको बास नै नहरने गरी सडकमा पुर्याउने कार्य जनताको अभिभावक बन्नुपर्ने सरकार पक्षबाट हुन नहुने र व्यवसायीको उचित व्यवस्थापन गरेर मात्र सडक विस्तार गरिनुपर्छ ।
प्रदेश राजधानी समेत रहेको हेटौंडा साँघुरो सडकका कारण भीडभाड र दुर्घटना बढी हुने गरेको छ । संघको आधिकारिक धारणा पनि यही छ कि सडक विस्तार हुनुपर्छ, बाँकी मुआब्जा वा क्षतिपूर्ति र व्यवसायीको व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक समन्वय र सहकार्य गरिनुपर्ने महासचिव चौलागाईले बताए ।







