सामुदायिक क्याम्पसमा पहिलो पटक होटल म्यानेजमेन्ट
मकवानपुर । मकवानपुरको सामुदायिक क्याम्पसमा पहिलो पटक होटल म्यानेजमेन्ट अध्यापन हुने भएको छ ।
हेटौंडा–४, मा रहेको हेटौंडा क्याम्पसले होटल म्यानेजमेन्टको अध्यापन सुरु गर्नेगरी भर्ना खुलाएको हो। हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार मकवानपुरमा सामुदायिक क्याम्पसहरुमा पहिलो पटक हेटौंडा क्याम्पसले होटल म्यानेजमेन्टको भर्ना खुलाएको हो । यसै बर्षदेखि हामीले कक्षा–११ मा भर्ना खुलाएका छौं, उनले भने–न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा सहित होटल म्यानेजमेन्टको कक्षा हुन्छ ।
निजी क्याम्पसहरुले होटल म्यानेजमेन्टको कक्षा सञ्चालन गरिरहेको भएता पनि सामुदायिक क्याम्पसबाट हेटौंडामा पहिलो पटक आफूहरुले भर्ना सुरु गरिएको उनको भनाई छ । होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्दै गएको पाइएपछि आफूहरुले अत्यन्तै सहुलियत शुल्कमा अध्ययन गराउन लागिएको मानन्धरले बताए । यसवर्ष क्याम्पसले ४० जना मात्रै विद्यार्थी भर्ना लिनेछ ।
एसईईमा १ दशमलव ६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीले होटल म्यानेजमेन्ट अध्ययन गर्न पाउनेछन् । होटल म्यानेजमेन्ट अध्यापनको लागि क्याम्पसलाई हेटौंडा ४ नम्बर वडाले प्रयोगात्मक पाटोमा साथ दिने भएको छ । ४ नम्बर वडा कार्यालयमार्फत अत्याधुनिक होटल म्यानेजमेन्ट ल्याब, किचेन, रेष्टुरेन्ट, बार निर्माणको काम भइरहेको क्याम्पस प्रमुख मानन्धरले बताए ।
‘हामीसँग हाल कार्यरत जनशक्तिले नै होटल म्यानेजमेन्ट अध्यापन गराउन सक्ने अवस्था छ । ल्याबलगायत प्रयोगात्मक कक्ष निर्माणमा हेटौंडा उपमहानगरले सहयोग गर्ने भएपछि हामीले सहुलियत दरमै अध्यापन गराउनेगरी तयारी गरेका हौँ ।’ क्याम्पस प्रमुख मानन्धरले भने । १२ कक्षा पास गरिसकेपछि माथिल्लो कक्षा पढ्न काठमाडौं जानुपर्ने बाध्यता हटाउन आफूहरुले नै स्नातक तहमा होटल म्यानेजमेन्टको पढाई गर्ने सोच पनि बनाएको क्याम्पस प्रमुख मानन्धरले बताए ।
हाल क्याम्पसले होटल म्यानेजमेन्ट अध्ययनन गर्ने विद्यार्थीलाई मासिक तीन हजार शुल्क निर्धारण गरेको छ भने भर्ना १० हजार र वार्षिक प्रयोगात्मक शुल्क ८ हजार तय गरेको छ ।







