इमान्दार भएर काम गर्न कर्मचारीलाई मुख्यमन्त्रीकोे आग्रह

अखबार हब
२०८० असार १४, बिहीबार १९:४४

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कर्मचारीलाई इमान्दार भएर काम गर्न आग्रह गरेका छन् ।

बिहाबार हेटौंडामा भएकोे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री जम्कट्टेलले चुस्त, दुरुस्त सेवा प्रदान गर्नका लागि कर्मचारीलाई इमान्दार भएर काम गर्न आग्रह गरेका हुन ।

उनले अघिल्लो सरकारले नियुक्त गरेका करारका कर्मचारीले आवश्यक समन्वय नगरेका कारण प्रतिष्ठान मातहतको हेटौँडा अस्पतालको सेवा प्रवाहमा समस्या भएको बताए । मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक आस्था प्रेरित भएर असहयोग भइरहेको दावी गरे । प्रदेश सरकार स्थापित भएसँगै १३ जिल्लाका अस्पतालहरूमा उल्लेख्य सुधार भएको मुख्यमन्त्री जमकट्टेलको भनाइ छ ।

प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् प्रतिष्ठानका संस्थापक कुलपति डोरमणि पौडेलले हेटौँडा अस्पतालमा सुधार भइरहेको र अस्पतालको सुधारविरुद्ध माफियाहरु लागीपरेको आरोप लगाए ।

प्रतिष्ठानका लागि अस्पताल आवश्यक भएका कारण हेटौंडा अस्पताललाई समेटिएको उल्लेख गर्दै पौडेलले जिल्ला अस्पतालबाट प्रतिष्ठान मातहतको अस्पताल निर्माण हुँदा धेरै सुधार भएको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री उत्तम जोशी, सामाजिक विकास मन्त्री कुमारी मुक्तान लगायतकाको उपस्थिती रहेको थियो । प्रतिष्ठान र हेटौंडा अस्पतालको अवस्थाका बारेमा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले कर्मचारी, प्राध्यापक, चिकित्सकलाई सम्मान समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*