‘अखण्ड भारत’को नक्साविरुद्ध बागमती प्रदेशसभामा संकल्प प्रस्ताव स्वीकृत
मकवानपुर । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्र समेटिएको विरोधमा बागमती प्रदेशसभामा संकल्प प्रस्ताव स्वीकृत भएको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकमा एमालेले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ बमोजिम संकल्प प्रस्ताव पेस गरेको थियो । प्रदेशसभाको दोस्रो कार्यकालमा बुधवार पहिलोपटक संकल्प प्रस्ताव पेस भएको हो । एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेश गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेस गरेको संकल्प प्रस्तावलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेसहित कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले समर्थन गरेका थिए ।
कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकाल, राप्रपाकी कुमारी तामाङ, एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका हुन् । प्रस्तावक पौडेलले नेपालको लुम्बिनी कपिलवस्तु भूभाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रूपमा नेपाल सरकारले पहल गर्नुपर्ने बताए ।
बागमती प्रदेशसभामा संकल्प प्रस्ताव पारित हुँदा देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा छन् । नेपाल कसैको अधीनमा नरहेको भन्दै नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने पौडेलको भनाइ छ ।







