हेटौंडा मेयर कप बुद्धिचाल प्रतियोगिता भोलि बाट, प्रथम पुरस्कार १ लाख

अखबार हब
२०८० बैशाख २८, बिहीबार १४:४०

मकवानपुर । हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि शुक्रबारदेखि हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुन लागेको जानकारी गराएको हो ।

हेटौंडा चेस क्लब, मकवानपुर जिल्ला बुद्धिचाल संघ र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

बिहीबार बिहानसम्ममा ८१ जना खेलाडीले प्रतियागितामा सहभागी हुन नाम दर्ता गराइसकेको नेपाल बुद्धिचाल संघका केन्द्रीय महासचिव एवम् प्रतियोगिता निर्देशक धरम लामाले बताए । प्रतियोगितामा करिब ९० जना खेलाडीले सहभागिता जनाउने उनले बताए । मकवानपुरका २० र मकवानपुर बाहिरका ७० जना खेलाडी रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा २१ विधामा पुरस्कार वितरण गरिने जनाएको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । यस्तै चौथो र पाँचौलाई २०–२० हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । अन्य विधागत उत्कृष्टलाई १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा स्विस लिग प्रणाली अन्तर्गत ९ खेल खेलाइने जनाएको छ । प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २० लाख २ हजार खर्च हुने आयोजकको अनुमान छ ।

हेटौंडा–११ स्थित स्मारक होटलमा हुने प्रतियोगिताको शुक्रबार हेटौंडा उपमहानरपालिकाका उपप्रमुख राजेश बानियाँले उद्घाटन गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*