मकवानपुर ११ को विजयी सुरुवात

अखबार हब
२०७९ माघ २९, आईतवार ०७:५६

मकवानपुर । हेटौंडामा सुरु भएको पाँचौ सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा घरेलु टिम मकवानपुर ११ ले विजयी यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा मकवानपुरले छिमेकी जिल्ला बाराको नवजनजागृति क्लव सिमरालाई २–० ले हराएको हो ।

मकवानपुरका लागि प्रितम स्याङ्बो र फागुराम चौधरीले गोल गरेका हुन् । खेलमा मकवानपुरका विदेशी खेलाडी एल्यु म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । सातवटा ए डिभिजन, एउटा विदेशी तथा ४ वटा मोफसलका गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले उद्घाटन गरेका हुन् । कार्यक्रममा उपमेयर बानियाँ, प्रतियोगिताका पूर्व संयोजक प्रताप बिष्ट, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फा केन्द्रीय सदस्य टीकाराम लामा लगायतले यस प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिँदै लैजानुपर्ने धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*