एमालेको चियापानमा कमल थापा
मकवानपुर । नेकपा एमालेसंग चुनावी तालमेल गरेर निर्वाचन लड्ने तयारी गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा एमाले मकवानपुरले आयोजना गरेको एक कार्यक्रममा सहभागी बनेका छन् ।
बिहीबार हेटौंडा–५ पुष्पलाल स्थित एमाले पार्टी कार्यालयमा भएको विजया दशमी, दीपावली तथा छठ पर्व शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा थापा सहभागी बनेका हुन् ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार एमालेको निमन्त्रणमा अध्यक्ष थापा उक्त कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा अध्यक्ष थापाले शुभकामना आदनप्रदान गरेको बर्तौलाले बताए ।
‘जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ जीले बोलाउनु भएको थियो । निम्तो कार्ड पठाउनु भएको थियो । महामन्त्री बर्तौलाले भने, निमन्त्रणलाई स्वीकार गर्दै अध्यक्ष थापाले कार्यक्रममा सहभागीहरुसंग भेटघाट गर्नुभयो । शुभकामना आदनप्रदान गर्नु भयो । चिया खानुभयो ।’
एमालेको चियापन कार्यक्रममा अध्यक्ष थापासंगै राप्रपाका नेताहरुको पनि सहभागिता रहेको थियो । पछिल्लो दिनहरुमा अध्यक्ष थापा गृह जिल्ला मकवानपुरमा आफ्नो निवाचन क्षेत्र नंबर १ मा चुनावी अभियान अन्तर्गत घरदैलो तथा पार्टीको काममा व्यस्त छन् ।







