सोमवार हेटौंडामा खुल्ला पेनाल्टी सुट–आउट प्रतियोगिता
मकवानपुर । हेटौंडाको हुप्र चौरमा भोली (सोमवार) खुल्ला पेनाल्टी सुट–आउट प्रतियोगिता हुने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा २० टिमको सहभागिता रहने भएको छ ।
प्रतियोगिताका लागि तयारी पूरा भएको प्रतियोगिताका संयोजक निरज सिंह ठकुरीले जानकारी दिए । मकवानपुरमा पहिलो पटक खुला पेनाल्टी सुट–आउट प्रतियोगिता हुन लागेको हो । एउटा टिममा ६ जना खेलाडी रहनेछन् । ५ जना खेलाडीले पेनाल्टी प्रहार गर्नेछन् भने एक जना गोलरक्षक रहनेछन् । टिममा महिला पुरुष दुवै समावेश भएर खेल्न सकिने जनाइएको छ ।
एकदिनमै प्रतियोगिता सकिनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ र द्वितीय हुने टिमले नगद २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।







