जनतासँग माया–पिरती टुटेको छैन, अन्तिम पटक चुनाव लड्छुः झलनाथ

अखबार हब
२०७९ भाद्र ५, आईतवार १२:०९

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधि सभामा उम्मेदवार हुने बताएका छन्। खनालले आफू यसपालि इलामको क्षेत्र न. १ बाट सत्तारूढ गठबन्धनको उम्मेदवारका रूपमा चुनाव लड्ने बताएका हुन्।

आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले आगामी मंसिरमा हुने चुनावमा लड्ने बताएका हुन्। राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ? भन्ने पत्रकारको जिज्ञासामा खनालले भने, ‘जनतासँगको माया–पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छु, अब एक पटक लड्छु।’

उनले आफूले इलाम– १ बाट जित्ने विश्वाससमेत व्यक्त गरे। अहिले पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए। ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,’ उनले भने।

खनालले गठबन्धन चुनावसम्म मात्र हुन्छ कि पछिसम्म जान्छ भन्ने कुरा भन्न नसकिने बताए। तर, अहिलेको चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने बताए।

उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सिर्जना भएको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए। खनालले अहिले आफूहरू नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको पनि बताए।

‘मुलुकका लागि बृहत वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन तर समाजवादी रूपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published.


*