पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु भनेको संसद्को अपमान होः ज्ञवाली

अखबार हब
२०७९ असार ६, सोमबार १८:५०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसद्को अपमान गरेको बताउनुभएको छ । अर्थ मन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्ने वचन दिएको भए पनि त्यसलाई लत्याउँदै मूल्यवृद्धि गर्नुले संसद्को समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो ।

आज सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले सरकारले पेट्रोलियम पदार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो । उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रीले बजेट वक्तव्य पढ्दै गर्दा मौखिक रूपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्छु, यसमा लगाइएको अतिरिक्त कर हटाउँछु भन्नुभएको थियो । संसद्को स्पष्ट निर्देशन र सदन समक्ष अर्थ मन्त्रीले बजेट वक्तव्य पेस गर्दा बोलेको कुरालाई समेत लत्याउँदै मूल्यवृद्धि भएको छ, यो जनताको ढाड सेक्ने कुरा त हुँदै हो ।

यो वास्तवमा संसदको पनि अपमान हो । त्यसैले हामीले त्यही गम्भीरताका साथ यो विषय उठाएका हौँ । कमसेकम एउटा कर हट्दा पनि थोरै भए पनि राहत हुन्छ । आयल निगमको समग्र संस्थागत सुधार गर्ने हो भने मूल्य घटाउन सकिन्छ । यो काम नगरिकन सिधै बाहिरबाट समायोजन भएर आयो, त्यसको सिधै मार जनतालाई दिने खालको कुरा छ ।’

उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि आफूहरूले आवाज उठाएको भन्दै सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*