मकवानपुर गोल्डकप आजबाट सुरु,उद्घाटन खेलमा बागमती र सिमारा भिड्दै
मकवानपुर। मकवानपुर फुटबल संघको आयोजनामा आजबाट हुने स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ सुरु हुँदै छ । जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउँदै छन् ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाासहित ट्रफी प्राप्त गर्नेछन् ।
आज दिउँसो हुने उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लब र सिमराको नव जनजागृति क्लब भिड्ने छन् । प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितालाई मकवानपुरको १० वटै स्थानीय तहले आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख, थाहा नगरपालिकाले १० लाख र अन्य ८ गाउँपालिकाहरुले ५÷५ लाख सहयोग गरेका छन् ।







