गठबन्धनबाट कांग्रेसलाई बढी लाभ
काठमाडौं । स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनबाट सर्वाधिक लाभ नेपाली कांग्रेसले उठाउने भएको छ ।
सत्ताघटकका अन्य दलको साथ लिएर कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेलाई दोस्रोमा धकेलिदिएको छ । माओवादी केन्द्र केही सुधारसहित तेस्रो स्थानमा यथावत् छ । सत्तारुढ दलका सहयात्री माओवादी केन्द्र,जनता समाजवादी,एकीकृत समाजवादी र जनमोर्चाको साथले कांग्रेसले अन्य दललाई धेरै पछि पारेको छ ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधि बहुसंख्यक कांग्रेसबाट हुनेमा अब संशय रहेन । कथं, तालमेल नभएको भए कांग्रेसले यसै अनुपातको नतिजा प्राप्त गर्न नसक्नेमा आशंका पनि कायमै छ । सत्ताघटका अन्य दलको सहयोगमा कांग्रेसले स्थानीय तहमा अध्यक्ष र प्रमुख गरी २१० स्थानमा जित निकालिसकेको छ । अग्रता संख्यामा पनि कांग्रेस अरु दल भन्दा अघि नै छ । गणना हुँदै गरेका १०५ पालिकामा कांग्रेसको अग्रता छ ।
गणना सकिएका, जारी रहेका तथा मतगणना बाँकी रहेका पालिकाहरुको आधारमा आकलन गर्दा कांग्रेसबाट निर्वाचित हुनेको संख्या ३२० को हारहारी हुने देखिन्छ । ३२० पालिका विजयी भएकोलाई आधार मान्दा कांग्रेसले प्रमुखरअध्यक्षमा ४२ प्रतिशत स्थानमा जित निकाल्छ ।
सत्ता घटकका दलहरु वीच अघिल्लो चुनावमा आफू विजयी भएका स्थान र दोस्रो भएको भए सोही दलबाट उम्मेदवार बनाउने सहमति जस्तै बनेको थियो । तर,सत्तारुढ दलहरु वीच बहुमत स्थानमा तालमेल हुन सकेन । मूलतः एमालेले जितेका स्थानमा सत्ताघटकबाट प्रतिस्पर्धा गर्ने गरि तालमेल गरिएको थियो ।
औपचारिक रुपमा तालमेल गरिएका स्थानीय तहको संख्या २१६ थिए । कांग्रेसले १४०, माओवादीले ५०, एकीकृत समाजवादीले १९, जनमोर्चाले ४ र जनता समाजवादीले ३ स्थानमा प्रमुख तथा अध्यक्ष उठाउने गरी तालमेलको सहमति बनेको थियो । कांग्रेसले कुनै जिल्लामा एउटा मात्रै पालिकाको नेतृत्वको उम्मेदवार बनाउन तालमेल गरेको थियो भने कतिपय जिल्लाका पाँच पालिकामा नेतृत्वको लागि उम्मेदवार बनाउन पाएको थियो ।
कतिपयमा उम्मेदवारको मनोनयन फिर्ता लिने समय सकिएपछि पनि एकले अर्कालाई सहयोग गर्ने गरी वचनवद्धता गरी उम्मेदवारी निष्क्रिय गराएका थिए । त्यस अनुसार करिब २५० स्थानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गठबन्धनका दलहरु वीच तालमेल भएको थियो ।
तालमेलबाट आफूलाई प्राप्त १४० स्थानमा प्रमुख वा अध्यक्षको उम्मेदवार निर्वाचितको बलमा सिट बढाउन कांग्रेस सफल भएको छ । सत्ताघटको तालमेल र एमाले विभाजित भएको प्रत्यक्ष लाभको भरपुर उपयोग कांग्रेसले गरेको छ ।
विभाजित कम्युनिस्टलाई ‘उपयोग’ गरेर २०७४ सालमा प्राप्त २६६ सिटलाई उच्च अंकले वृद्धि गरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षको जोडबलमा कांग्रेसले तालमेल गरेको थियो । संस्थापन पक्षको जोडबलको प्रतिफल नतिजा मार्फत कांग्रेसले प्राप्त गरेको छ ।
२०७४ सालमा कांग्रेसले पाएको मत, तत्कालिन शक्ति सन्तुलन, अहिले विजयी भएको स्थानमा परेको मतान्तरलगायत आधारमा विश्लेषण गर्दा विना तालमेल कांग्रेसलाई यो शक्ति प्राप्त हुने थिएन । अघिल्लोपटक कांग्रेस दोस्रो भएका कतिपय स्थानमा तालमेल मार्फत कांग्रेसले झिनो अन्तरले जित निकालेको छ । सत्ता सहयात्री दलको साथ पाउँदा समेत झिनो अन्तरले जित्नुले तालमेल नभएको भए शक्ति बढाउन कांग्रेसलाई कठिन नै मत परिणामले देखाएको छ । (अनलाइन खबरबाट)







