सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित, जेठ १ गते मतदान हुने

अखबार हब
२०७९ बैशाख ३०, शुक्रबार १५:४१

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित एक मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ १ गते हुने भएको छ ।

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केहि व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको थियो ।

निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।

उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ । २ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केहि व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट शुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।

एक अशक्त मतदाताले मतदानका लागि आग्रह गर्दा मतदान अधिकृतले एउटाको साटो अर्को चिन्हमा मतदान गरेको भन्ने आरोपबाट विवाद शुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*