मकवानपुरको कान्छी उम्मेदवार बनिन् सुजिता

अखबार हब
२०७९ बैशाख ११, आईतवार १०:२७

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले मनहरी गाउँपालिकाको उपाध्यक्षमा युवा उम्मेदवारको रुपमा सुजिता थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिवार बसेको एमाले प्रदेश कमिटीको बैठकले अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

स्थानीय तहको निर्वाचनमा मकवानपुरको कान्छी उम्मेदवारको रुपमा रहेकी २५ वर्षीया थिङ एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरको जिल्ला सचिवालय सदस्यसमेत हुन् ।

उनी यसअघि नेपाल सरकारको पहिलो कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको संघीय नमुना युवा संसद स्थापना तथा अभ्यास कार्यक्रममा सभामुखको भूमिका निर्वाह गरेकी थिइन् ।

एमालेले गाउँपालिका उम्मेदवारको टुंगो लगाएसँगै उनले भनिन्, ‘म निर्वाचित भएर आएको खण्डमा वर्तमान समयमा देखिएको बेरोजगारी समस्यालाई न्यूनीकरणको निम्ति केन्द्रित हुन्छु ।’

उनले गाउँपालिकाभित्र रहेको परम्परा संस्कृतिको जगेर्ना र प्रबर्द्धनको साथसाथै शिक्षा , स्वास्थ्यलगायत अन्य कुराहरुमा योजनाबद्ध भएर लाग्ने बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*