एमालेबाट हेटौंडाको मेयरमा ३ जनाको नाम सिफारिस

अखबार हब
२०७८ चैत्र २९, मंगलवार १६:४५

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले हेटौंडा नगर कमिटीले मेयर र उपमेयर पदकालागि तीन/तीन जनाको नाम टुङ्गो लगाएको छ ।

आज भएको एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत् निर्णय गर्न नसकेपछि मेयरमा ३ जना र उपमेयरमा ३ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि हरिबहादुर महत, अनन्त पौडेल र गणेशकुमारी प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको एमाले जिल्ला सचिव नवीन सिग्देलले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि नौ जनाले आकांक्षा व्यक्त गरेको भएपनि सहमति हुन नसक्दा तीनजनाको नाम सिफारिस गरिएको हो । हेटौंडाको मेयरका लागि एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, संबिधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बाहालबाला मेयर हरिबहादुर महत, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्यहरु मदन दाहाल, ध्रुव चौलागाईं, गणेशकुमारी प्रधान र संगठित सदस्य विके महर्जनले आकांक्षा व्यक्त गरेका थिए ।

त्यस्तै उपमेयर पदका लागि सुमित्रा काफ्ले,आरती पाठक र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ । उपमेयरका लागि ७ जनाले आकांक्षा व्यक्त गरेको भएपनि तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो । उपमेयर पदका लागि सुमित्रा काफ्ले, सीता बिष्ट, मेनुका दाहाल, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपालले इच्छा व्यक्त गरेका थिए ।

सर्वसम्मत् उम्मेदवार छनोटका लागि भएको प्रयास असफल भएसँगै आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिएको हो । उक्त सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*