कैलाशको अध्यक्षमा एमालेबाट ५ जनाको दाबी
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले कैलाश गाउँ कमिटीले अध्यक्ष र उपाध्यक्ष पदका लागि नाम सिफारिस गरेको छ ।
एमाले कैलाश गाउँ कमिटीको सचिवालय बैठकले सर्वसम्मत् निर्णय गर्न नसकेपछि अध्यक्षमा ५ जना र उपाध्यक्षमा ५ जनाको नाम सिफारिस गरेको हो ।
बैठकले कैलाश गाउँपालिकाको अध्यक्ष पदका लागि गाउँपालिकाकी उपाध्यक्ष एवं पार्टी जिल्ला सदस्य सुकुमाया थिङ, एमाले मकवानपुरका सचिवालय सदस्य नरेन्द्रलाल रिजाल, जिल्ला सदस्य श्याम उप्रेती, जिल्ला सदस्य एवं कैलाश गाउँपालिकाका सह–इञ्चार्ज बुद्ध मोक्तान र गाउँकमिटीका सचिवालय सदस्य सचित कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
उपाध्यक्षमा राजकुमार बल, तारा थिङ, अर्जुन बर्तौला, मशेह चेपाङ र पविना गुरुङलाई सिफारिस गर्ने निणर्य गरेकोे एमाले कैलाश गाउँपालिकाका उपाध्यक्ष छेकु लामाले जानकारी दिए ।
सर्वसम्मत् उम्मेदवार छनोटका लागि भएको प्रयास असफल भएसँगै आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिएको हो । उक्त सिफारिस जिल्ला हुँदै प्रदेश कमिटीमा पुग्नेछ ।
त्यस्तै एमाले कैलाशले वडाअध्यक्षमा भने २, ५, ६, ७, १० मा टुंगो लगाई सकेको छ । वडा नम्बर २ सानुराज घिसिङ,वडा नम्बर ५ छेकु लामा, ६ नम्बर वडा राम बहादुर गोङबा (अनिल), वडा नम्बर ७ मा सुरेन्द्र घलान,वडा नम्बर १० सुर्य बहादुर ब्लोनसहित सबै वडा सदस्यहरु सर्वसम्मत भएका छन् ।
वडा नम्बर १ मा भने पेमा योञ्जन, कमल तितुङ र युवराज दोङ, वडा नम्बर ४ मा केशव मुक्तान र बाबुराम मुक्तानको नाम सिफारिस गरिएको छ । भने, वडा नम्बर ८ मा सुर्ज बहादुर थिङ, जित मुक्तान, सन्तोश थिङ र सुनिल मोक्तान सिफारिस भएका छन् । वडा नम्बर ९ मा सुमन लटौला, सितराम सत्याल, राजेन्द्र थिङ र मनोज बर्तौलाको नाम सिफारिस गरिएको छ । बाँकी वडामा भने सहमतिको प्रयास भइरहेकोले चाँडै उम्मेदवार टुंगो लगाइने एमाले कैलाशका अध्यक्ष पुण्य प्रसाद भण्डारीले जानकारी दिए ।







