मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

अखबार हब
२०७८ चैत्र १९, शनिबार १२:३३

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान फाइज अहमदले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केहीबेरमा मलेसियाविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ ।

मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ । यता नेपाल पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा अपराजित भएर फाइनल पुग्ने योजनामा छ ।

नेपालले यसअघिका तीन खेलमा सहज जित निकालेको छ । दुई खेलमा पपुवा न्युगिनी र एक खेलमा मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो । नेपालले यसअघिको भेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । पीएनजी ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान),आरिफ शेख, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, आबिनास बोहोरा, दिलीप नाथ, आदिल अन्सारी, रोहितकुमार पौड्याल

यसमा तपाइको मत

Your email address will not be published.


*